वैकल्पिक विकास वित्त : नेपालको विकास यात्रामा नयाँ प्रयोग

नेपालले आगामी दशकलाई पूर्वाधार विस्तार, ऊर्जा निर्यात, औद्योगिकीकरण र उच्च आर्थिक वृद्धिको दशक बनाउने लक्ष्य राखेको छ। तर ती महत्त्वाकांक्षी लक्ष्य प्राप्तिका लागि आवश्यक वित्तीय स्रोतको प्रश्न अझै पनि विकास बहसको केन्द्रमा छ। सरकारले हरेक वर्ष महत्त्वाकांक्षी योजना सार्वजनिक गरे पनि सीमित बजेट, बढ्दो सार्वजनिक ऋण, न्यून पूँजीगत खर्च र दीर्घकालीन लगानीको अभावका कारण धेरै परियोजना अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्।
यही पृष्ठभूमिमा ‘वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८२’ लाई नेपालको विकास वित्त प्रणालीमा संरचनागत परिवर्तन ल्याउने प्रयासका रूपमा हेरिएको छ। ऐनले परम्परागत सरकारी बजेट र वैदेशिक ऋणमा आधारित विकास मोडललाई विस्तार गर्दै निजी क्षेत्र, संस्थागत लगानीकर्ता, गैरआवासीय नेपाली तथा अन्तर्राष्ट्रिय पूँजीलाई राष्ट्रिय प्राथमिकताका परियोजनामा परिचालन गर्ने लक्ष्य राखेको छ। यदि प्रभावकारी कार्यान्वयन हुनसकेमा यो ऐनले नेपालको विकास वित्तीय संरचनामा नयाँ अध्याय शुरु गर्न सक्ने अर्थविद्हरूको विश्लेषण छ।
किन आवश्यक पर्यो वैकल्पिक विकास वित्त ?
नेपालको विकास योजनाको आकार र उपलब्ध स्रोत बीचको अन्तर वर्षेनि बढ्दै गएको छ। सरकारी बजेटको ठूलो हिस्सा चालु खर्चमा केन्द्रित छ। कर्मचारी तलब, सामाजिक सुरक्षा कार्यक्रम, प्रशासनिक खर्च र सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीपछि विकासका लागि उपलब्ध स्रोत सीमित रहन्छ।
पछिल्ला वर्षहरूमा पूँजीगत बजेट खर्च समेत लक्ष्य अनुसार हुन नसकेको सरकारी तथ्याङ्कले देखाउँछ। अर्कोतर्फ, नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा एकातिर ठूलो लगानीका लागि पूँजी नै नभएको अवस्था छ भने ऋण लगानीको प्रावधान पनि धितोकेन्द्रित नै रहेको छ। साथै, बैंकिङ प्रणाली मुख्यतः अल्पकालीन निक्षेपमा आधारित भएकाले २०–३० वर्ष अवधिका पूर्वाधार परियोजनामा आवश्यक वित्तीय स्रोत उपलब्ध गराउन कठिनाइ भइरहेको छ।
जलविद्युत्, प्रसारण लाइन, द्रुतमार्ग, रेलमार्ग, विमानस्थल, औद्योगिक पार्क, सूचनाप्रविधि पूर्वाधार तथा सिंचाइ जस्ता परियोजनाका लागि दीर्घकालीन पूँजी आवश्यक पर्छ। तर नेपालको वित्तीय बजार अझै त्यस्तो प्रकृतिको लगानीलाई व्यवस्थित रूपमा परिचालन गर्न पर्याप्त परिपक्व भइसकेको छैन। नेपालको समस्या विकास योजनाको अभाव होइन, विकास वित्तको अभाव हो। यसको समाधानको उत्कृष्ट उपाय भनेको नै ‘विकास वित्त’ हुन सक्छ भन्ने सोचेर नै सरकारले यो विधेयकलाई अघि सारेको देखिन्छ।
विकास वित्तको नयाँ अवधारणा
यसको मूल अवधारणा भनेको विकासलाई सरकारी स्रोतको सीमाभन्दा बाहिर विस्तार गर्नु हो। यसले विकास परियोजनाका लागि आवश्यक पूँजी जुटाउन बहुआयामिक वित्तीय स्रोत प्रयोग गर्ने व्यवस्था प्रस्ताव गरेको हुन्छ।
यसअन्तर्गत निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, पूँजी बजार, गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई विकास प्रक्रियाको साझेदार बनाउने लक्ष्य राखिएको छ। नीतिनिर्माताहरूका अनुसार विकासको जिम्मेवारी राज्यको मात्र नभई सम्पूर्ण अर्थतन्त्रको साझा दायित्व हो भन्ने आधुनिक वित्तीय सोचलाई संस्थागत रूप दिन खोजिएको छ।
नेपालको अर्थतन्त्रको सबैभन्दा बलियो आधारमध्ये एक विप्रेषण हो। विदेशमा कार्यरत लाखौं नेपालीले हरेक वर्ष खर्बौं रुपैयाँ देशमा पठाउने गरेका छन्। यही विप्रेषणले विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन, उपभोग धान्न र अर्थतन्त्रलाई चलायमान राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ। तर अर्थशास्त्रीहरूका अनुसार विप्रेषणको ठूलो हिस्सा उपभोग, घर निर्माण तथा जग्गा कारोबारमा खर्च हुने गरेको छ। उत्पादनशील क्षेत्रमा यसको उपयोग अपेक्षाकृत न्यून छ।
यसले विप्रेषणलाई विकास वित्तसँग जोड्ने उद्देश्य राखेको छ। विप्रेषण कोष, पूर्वाधार ऋणपत्र, स्वपूँजी कोष, मिश्रित वित्त, जमानत कोष जस्ता वित्तीय उपकरण मार्फत विदेशमा रहेका नेपालीको बचतलाई राष्ट्रिय विकास परियोजनामा आकर्षित गर्ने योजना अघि सारिएको छ। अर्थविद्हरूका अनुसार यदि विप्रेषणको सानो अंश मात्र दीर्घकालीन उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकियो भने त्यसले नेपालको आर्थिक संरचनामा ठूलो परिवर्तन ल्याउन सक्छ।
विकास वित्त कोष र लगानीका प्राथमिकता क्षेत्र
विधेयकको केन्द्रबिन्दु ‘वैकल्पिक विकास वित्त परिचालन कोष’ हो। प्रस्तावित व्यवस्था अनुसार कोषको अधिकृत पूँजी एक खर्ब रुपैयाँ हुनेछ भने प्रारम्भिक चुक्ता पूँजी २५ अर्ब रुपैयाँ रहनेछ। कोष स्वायत्त तथा कानूनी व्यक्तित्व प्राप्त संस्था हुनेछ। यसमा सरकारको ५१ प्रतिशत स्वामित्व रहने प्रस्ताव गरिएको छ भने बाँकी स्वामित्व कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा अन्य संस्थागत लगानीकर्ताले धारण गर्न सक्ने व्यवस्था गरिएको छ। सरकारका अनुसार यस व्यवस्थाले सरकारी नेतृत्व र संस्थागत लगानी बीच सन्तुलन कायम गर्दै दीर्घकालीन लगानीको बलियो आधार निर्माण गर्नेछ।
ऐनको अर्को महत्त्वपूर्ण पक्ष भनेको कोषलाई केवल लगानीकर्ता नभई ‘क्याटालिस्ट’ (उत्प्रेरक) संस्थाका रूपमा परिकल्पना गरिएको छ। नेपालमा धेरै परियोजना प्रारम्भिक जोखिमका कारण निजी लगानीकर्तालाई आकर्षित गर्न असफल हुने गरेका छन्। यदि कोषले प्रारम्भिक लगानी, जोखिम साझेदारी वा जमानतको भूमिका निर्वाह गर्न सक्यो भने निजी तथा विदेशी लगानी आकर्षित गर्न सहज हुन सक्छ।
विकास वित्तका अन्तर्राष्ट्रिय अभ्यासमा यस्ता संस्थाहरूले सरकारी लगानीलाई ‘सिग्नल’ का रूपमा प्रयोग गरी निजी क्षेत्रको ठूलो पूँजी परिचालन गर्ने गरेका छन्।
यसले राष्ट्रिय प्राथमिकताका रणनीतिक क्षेत्रहरूलाई लगानीको प्रमुख केन्द्रका रूपमा पनि निर्धारण गरेको छ। यसअन्तर्गत जलविद्युत् तथा ऊर्जा आयोजना, प्रसारण लाइन, सडक तथा द्रुतमार्ग, रेलमार्ग, विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक पार्क, सूचनाप्रविधि पार्क, सिंचाइ आयोजना, खानी तथा खनिज क्षेत्र तथा व्यावसायिक कृषि लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको छ।
यी क्षेत्रहरूमा लगानी वृद्धि भएमा उत्पादन क्षमता विस्तार हुने, रोजगारीका अवसर सिर्जना हुने, आयात प्रतिस्थापनमा टेवा पुग्ने तथा निर्यात प्रवर्धन मार्फत समग्र आर्थिक विकासलाई गति मिल्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय अभ्यास
विश्वका धेरै मुलुकले दीर्घकालीन आर्थिक विकास, पूर्वाधार निर्माण तथा रणनीतिक क्षेत्रमा लगानी विस्तार गर्न विशेष लगानी कोष तथा विकास वित्त सम्बन्धी संस्थाहरू स्थापना गरी सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। भारतको ‘नेसनल इन्भेष्टमेन्ट एन्ड इन्फ्रास्ट्रक्चर फन्ड’ ले सार्वजनिक, निजी तथा अन्तर्राष्ट्रिय स्रोतबाट पूँजी परिचालन गरी पूर्वाधार क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ। सिङ्गापुरको ‘टेमासेक होल्डिङ्स’ ले राज्यको स्वामित्वमा रहेको सम्पत्तिलाई व्यावसायिक सिद्धान्तका आधारमा व्यवस्थापन गर्दै दीर्घकालीन प्रतिफल हासिल गरेको उदाहरण प्रस्तुत गरेको छ।
त्यसैगरी, नर्वेको ‘गभर्नमेन्ट पेन्सन फन्ड ग्लोबल’ ले प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीलाई विश्वभरका विविध क्षेत्रमा लगानी गरी भावी पुस्ताका लागि राष्ट्रिय सम्पत्तिको संरक्षण र वृद्धिको सफल अभ्यास स्थापित गरेको छ। अस्ट्रेलियाको ‘फ्युचर फन्ड’ र क्यानडाको ‘क्यानडा पेन्सन प्लान इन्भेष्टमेन्ट बोर्ड’ ले पनि दीर्घकालीन लगानी मार्फत सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन र स्थिर प्रतिफल सुनिश्चित गर्ने उदाहरण प्रस्तुत गरेका छन्।
यी अन्तर्राष्ट्रिय अनुभवहरूले विकास वित्तका यस्ता संस्थाहरूको सफलता केवल ठूलो पूँजीमा निर्भर नहुने, बरु सक्षम संस्थागत संरचना, व्यावसायिक नेतृत्व, पारदर्शी निर्णय प्रक्रिया, प्रभावकारी जोखिम व्यवस्थापन, कडा उत्तरदायित्व तथा राजनीतिक हस्तक्षेपबाट मुक्त सुशासनमा निर्भर रहने तथ्यलाई स्पष्ट रूपमा देखाएका छन्। सफल संस्थाहरूले स्पष्ट लगानी नीति, स्वतन्त्र सञ्चालक संरचना, नियमित सार्वजनिक प्रतिवेदन तथा व्यावसायिक निर्णय प्रक्रियालाई प्राथमिकता दिएका कारण दीर्घकालीन रूपमा विश्वास र प्रतिफल दुवै हासिल गरेका छन्।
नेपालको प्रस्तावित विकास वित्त कोषले पनि यिनै अन्तर्राष्ट्रिय अभ्यासबाट शिक्षा लिंदै सुशासन, पारदर्शिता र व्यावसायिक व्यवस्थापनलाई केन्द्रमा राख्न सकेमा दीर्घकालीन विकास आयोजना, पूर्वाधार निर्माण तथा उत्पादनशील क्षेत्रमा आवश्यक लगानी परिचालन गर्ने प्रभावकारी वित्तीय संयन्त्रका रूपमा स्थापित हुन सक्छ।
विदेशी ‘सीईओ’ को बहस
विदेशी नागरिकलाई पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सकिने व्यवस्था नेपालको विकास र लगानीका दृष्टिले सकारात्मक अवसरका रूपमा लिन सकिन्छ। आजको विश्वमा नेतृत्वको मापन राष्ट्रियताले होइन; योग्यता, अनुभव र कार्यसम्पादनले गरिन्छ। अन्तर्राष्ट्रिय वित्तीय बजारको अनुभव, लगानीकर्तासँगको पहुँच र आधुनिक व्यवस्थापकीय सीप भएका नेतृत्वले नेपालमा विदेशी लगानी भित्र्याउन तथा विकासका नयाँ स्रोत जुटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
विश्वका धेरै सफल कम्पनीले योग्य विदेशी वा आप्रवासी मूलका नेतृत्वबाट उल्लेखनीय सफलता हासिल गरेका छन्। उदाहरणका लागि, माइक्रोसफ्टका सीईओ सत्य नाडेला र गुगलका सीईओ सुन्दर पिचाईले आफ्नो नेतृत्वबाट ती कम्पनीहरूलाई विश्वव्यापी सफलता दिलाएका छन्। यी उदाहरणहरूले नेतृत्वमा राष्ट्रियताभन्दा क्षमता र परिणाम बढी महत्त्वपूर्ण हुने देखाउँछन्।
नेपालका सन्दर्भमा पनि विदेशी सीईओ नियुक्तिको उद्देश्य विदेशीलाई प्राथमिकता दिनु होइन, बरु अन्तर्राष्ट्रिय अनुभव, लगानी र विश्वसनीयता नेपालमा भित्र्याएर विकासका लागि आवश्यक वैकल्पिक वित्तीय स्रोत जुटाउनु हो। त्यसैले नेतृत्व नेपाली होस् वा विदेशी, छनोट प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक, योग्यतामा आधारित र राष्ट्रिय हितप्रति उत्तरदायी हुनु नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।
वास्तविक चुनौती: कार्यान्वयन
नेपालमा विगतमा पनि उच्च अपेक्षाका साथ विभिन्न संस्था स्थापना गरिएका भए तापनि राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, अपारदर्शी निर्णय प्रक्रिया तथा उत्तरदायित्वको अभावका कारण तीमध्ये धेरै संस्थाले अपेक्षित नतिजा दिन सकेका छैनन्। यही अनुभवलाई आधार मान्दा वैकल्पिक विकास वित्त परिचालन कोषको सफलता मुख्यतः तीन आधारभूत शर्तमा निर्भर रहने देखिन्छ:
पहिलो, यसको व्यवस्थापन व्यावसायिक, सक्षम र राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्छ। दोस्रो, परियोजना छनोट प्रक्रिया पारदर्शी, निष्पक्ष तथा प्रतिस्पर्धात्मक हुन आवश्यक छ। तेस्रो, नियमित सार्वजनिक प्रतिवेदन, वित्तीय अनुशासन र कडा उत्तरदायित्वको व्यवस्था सुनिश्चित गरिनुपर्छ। विज्ञहरूका अनुसार यी आधारभूत पक्षहरू सुनिश्चित गर्न नसकिए ठूलो पूँजी र स्रोतसाधन भएको संस्था पनि प्रभावहीन बन्ने तथा अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने जोखिम रहन्छ।
निष्कर्ष: अवसर पनि, परीक्षा पनि
नेपाल अहिले विकासको आकाङ्क्षा र वित्तीय सीमा बीच उभिएको छ। एकातिर ऊर्जा, पूर्वाधार र औद्योगिकीकरणका विशाल आवश्यकता छन्, अर्कोतिर परम्परागत वित्तीय स्रोतको क्षमता सीमित छ।
यस्तो अवस्थामा ऐनले विकासका लागि नयाँ वित्तीय मार्ग खोल्ने सम्भावना बोकेको छ। यसले सरकारी बजेट र वैदेशिक ऋणमा निर्भर मोडललाई विस्तार गर्दै निजी, संस्थागत, विप्रेषण तथा अन्तर्राष्ट्रिय पूँजीलाई राष्ट्रिय विकाससँग जोड्ने प्रयास गरेको छ।
तर अन्तिम मूल्याङ्कन ऐनको घोषणाले होइन, त्यसको कार्यान्वयनले गर्नेछ। यदि सुशासन, पारदर्शिता र व्यावसायिकता सुनिश्चित गर्न सकियो भने यो कोष नेपालको विकास वित्तीय इतिहासमा एउटा महत्त्वपूर्ण मोड बन्न सक्छ। अन्यथा यो पनि विगतका महत्त्वाकांक्षी तर प्रभावहीन संस्थागत प्रयोगहरूको सूचीमा थपिने जोखिम रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
विश्वकपमा सर्वाधिक असिस्टमा पनि मेसीको कीर्तिमान, लगातार ९ खेलमा गोल

मेसीले विश्वकपमा सर्वाधिक असिस्ट गर्ने र ६ फरक विश्वकपमा असिस्ट गर्ने दुबै कीर्तिमान एकै खेलमा बनाए ।
२४ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् ।
पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् ।
उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक असिस्ट गर्ने कीर्तिमान आपफ्नै नाममा लेखाए ।
साथै मेसीले लगातार ६ विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि बनाएका छन् ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले त्यसयता ६ विश्वकप खेल्दै सबैमा असिस्ट गरेका हुन् ।
जारी विश्वकपमा पहिलो असिस्टमै मेसीले दुई कीर्तिमान बनाएका हुन् । यसअघि उनले विश्वकपमा अधिकांश कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् ।
इजिप्ट विरुद्ध ३-२ को पुनरागमन जितमा एक गोल समेत गरेका मेसीले लगातार खेलमा गोल गर्ने कीर्तिमान पनि बढाउँदे लगेका छन् । उनले यस विक्क्वकपमा खेलेको सबै ५ वटै खेलमा गोल गरेका छन् । उनी लगातार ९ खेलमा गोल गर्ने एक मात्र खेलाडी हुन् ।
मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक विश्वकप खेल्ने खेलाडी समेत हुन् ।
मेसीले अहिलेसम्म ६ विश्वकप खेल्दा कूल ३१ खेल खेलिसकेका छन् । दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले २६ खेल खेलेका छन् । मेसी र रोनाल्डोले मात्र सर्वाधिक ६ वटा विश्वकप खेलेका छन् । यस्तै मेसीले विश्वकपको नकआउट चरणमा सर्वाधिक १४ खेल खेल्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरेका छन् । अब क्वाटरफाइनल पुगिसकेकोले मेसीले उक्त कीर्तिमान पनि तोड्नेछन् ।
यस विश्वकपमा मेसीले गोल संख्या ८ पुर्याएका छन् र उनी सर्वाधिक गोल गर्नेमा पुन: शीर्ष स्थानमा उक्लेका छन् । मेसीसँग प्रतिस्पर्धामा रहेका प्रान्सका कप्तान किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डले समान ७ गोल गरेका छन् ।
मेसी दुई फरक विश्वकपमा ७ वा त्यो भन्दा धेरै गोल गर्ने समेत पहिलो खेलाडी बनेका छन् । सन् २०२२ मा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदा मेसीले ७ गोल गरेका थिए ।
यस्ते सबैभन्दा पाका उमेरमा ह्याट्रिक गर्ने, विश्वकपको समहु चरणदेखि सबै चरणको खेलमा गोल गर्ने, टिन एज, ट्वेन्टिज र थर्टिजमा गोल गर्ने, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने देखि एक दर्जन भन्दा बढी कीर्तिमान मेसीले बनाइसकेका छन् ।
पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो ।
२३ असार, काठमाडौं । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो ।
नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे ।
त्यसको ५ मिनेपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।
त्यसअघि खेलको १५औं मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।
६७औं मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए । तर, अन्तिम समयमा सम्हालिन नसक्दा इजिप्ट पराजित हुन पुग्यो ।
अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ । अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरियो ।
इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरणमा पुगेको थियो । नकआउटमा पनि पहिलो जित समेत हात पारिसकेको छ ।
यो खेलमा पनि गोल गरेसँगै मेसी विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन् । उनी विश्वकपका सर्वाधिक (३१) खेल खेल्ने, सर्वाधिक (२१) गोल गर्ने र सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान मेसीको नाममा छ ।
मेसी विश्वकपको इतिहासमा लगातार ६ वटा नकआउट चरणका खेलहरूमा गोल गर्ने पहिलो खेलाडी बने। यस्तै मेसीले विश्वकपमा सर्वाधिक असिस्ट (९) गर्ने कीर्तिमान बनाएका छन् ।
जारी विश्वकपमा ८ गोल गर्दै मेसी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् ।
मेसी एकै विश्वकपमा दुई पेनाल्टी मिस गर्ने खेलाडी पनि बनेका छन् । समूह चरणको खेलमा अष्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेको मेसीले राउन्ड अफ १६ को इजिप्टविरुद्ध पनि पेनाल्टीमा गोल गर्न सकेनन् ।
पहिलो हाफ गोलरहित बराबरीमा कोलम्बिया र स्विट्जरल्यान्ड

२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउण्ड अफ १६ को अन्तिम खेलमा अहिले कोलम्बिया र स्विट्जरल्यान्ड खेलिरहेका छन् ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन ।
पहिलो हाफमा अर्जेन्टिना एक गोलले पछि

अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा इजिप्ट एक गोलले अघि छ ।
२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध एक गोलले अग्रता लिएको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा इजिप्ट एक गोलले अघि छ ।
खेलको १५औं मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
२१औं मिनेटमा पाएको पेनाल्टीमा भने अर्जेन्टिनाले गोल गर्न सकेन । अर्जेन्टिनाका लियोनल मेसीको पेनाल्टी प्रहार इजिप्टका गोलकिपर मुस्तफा शोबिरले रोक्न सफल भए ।
अर्जेन्टिनाका अन्य धेरै प्रहारलाई गोलकिपर मुस्तफाले असफल बनाइदिएका छन् ।
मौद्रिक नीतिको संरचना र अडान दुवैमा ‘डिपार्चर’

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले संरचना र नीतिगत अडान दुवैमा व्यापक परिवर्तन गर्दै आगामी आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीति ल्याएको छ ।
२०५८–५९ देखि राष्ट्र बैंकले ल्याउँदै आएको मौद्रिक नीतिको संरचनामा पहिलोपटक फेरबदल गर्दै चालु आवको मौद्रिक नीतिको समीक्षा र वर्तमान आर्थिक अवस्था विश्लेषणसम्बन्धी दस्तावेज र मौद्रिक नीतिलाई छुट्याएको छ । यसअघि यी सबै विषयवस्तुलाई एउटै दस्तावेजमा समेट्ने गरिन्थ्यो ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति पुरानै संरचनामा ल्याए पनि दोस्रोपटक भने पुरानो अभ्यासलाई परिवर्तन गरेका छन् ।
त्यति मात्रै होइन, नेपाल राष्ट्रबैंकले विद्यमान नियामकीय अडानमा पनि व्यापक फेरबदल गरेको छ । यसपटकको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापन र नियामकीय जिम्मेवारीलाई छुट्याउन खोजेको सन्देश गभर्नर पौडेलले दिएका छन् ।
मौद्रिक नीतिले नीतिगत दरहरु कस्तो हुने, ब्याजदर कस्तो रहने, कसरी राख्ने, त्यसको लागि सीआरआर, एसएलआर कसरी राख्ने, ब्याजदरको सम्बन्धमा कसरी व्यवस्थापन गर्ने, मुद्राप्रदाय कस्तो हुने भन्ने बारेमा मात्र बोल्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । मौद्रिक नीतिले नियामकीय व्यवस्थाको बारेमा बृहद् दृष्टिकोण राख्ने र पछि आवश्यकताअनुसार निर्देशन निकालेर व्यवस्थापन गरिने उनको भनाइ छ । ‘अब सेयर बढ्छ कि बढ्दैन, कर्जा कति प्रवाह हुन्छ, नियामकीय व्यवस्था के हुन्छन् भनेर यो नीति पर्खनु पर्ने अवस्था रहेन,’ उनले भने ।
साथै, बजेट मार्फत सरकारले राखेका लक्ष्यलाई पुर्ण समर्थन हुने गरी मौद्रिक नीति आएको जानकारहरू बताउँछन । तर गभर्नर पौडेलले सरकार बजेटमा लिएकोभन्दा पनि कम मुद्रास्फीतिको लक्ष्य तोकेका छन् । सरकारले ६ प्रतिशतको सीमामा मुद्रास्फीति राख्ने लक्ष्य राखेकोमा केन्द्रीय बैंकले त्यसमा ५० आधार बिन्दू कम हुने गरी ५.५ प्रतिशतको लक्ष्य निर्धारण गरेको छ ।
त्यसैगरी, मौद्रिक नीतिले कर्जा वृद्धिदरको लक्ष्य ११ प्रतिशत राखेको छ । यो लक्ष्य पूरा भयो भने आगामी आर्थिक वर्षका ६ खर्ब ५० अर्ब थप कर्जा प्रवाह हुने छ । साथै, मौद्रिक नीतिले १४ प्रतिशतले विस्तृत मुद्राप्रदाय बढ्ने लक्ष्य राखेको छ ।
केन्द्रीय बैंकले खुकुलो कर्जा नीति, जोखिम व्यवस्थाको समायोजन र पुँजी वृद्धिको ढोका खुला राखी पुँजीकोष दबाबलाई पनि सम्बोधन गर्ने संकत गरेको बैंकिङ विज्ञ अनलराज भट्टराईले बताए ।
विगतमा मौद्रिक नीतिले मौद्रिक उपकरणहरू धेरै चलाई अस्थिर बनाएको अवस्थामा आगामी वर्षको नीतिमा सुधार आएको भट्टराईको भनाइ छ । विगतमा मौद्रिक नीतिले ब्याजदर, नीतिगत दर, अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात चलाउने गरेको भएपनि पछिल्लो समयमा नीगित स्थिरता देखिएको उनी बताउँछन् ।
‘मौद्रिक नीतिलाई मौद्रिक लक्ष्य हासिल गर्नमा मात्रै सीमित राखेर नियामकिय नीतिहरूमा फेरबदल गरिएको छ,’ भट्टाराईले भने, ‘कर्जा तथा अन्य तीन–चारवटा नियामकीय व्यवस्थालाई पुनर्लेखन गरिने भनेको छ, त्यसको अर्थ विद्यमान नीतिलाई पूर्णरुपमा परिमार्जन गर्छु भनेको हो, यो सकारात्मक हो ।’
रुग्ण उद्योग कर्जा, कर्जा पुनर्संरचना, कालोसूची सम्बन्धी व्यवस्थालगायतमा परिमार्जन गरिने विषयलाई मौद्रिक नीतिले छुनु सकारात्मक रहेको उनको बुझाइ छ ।
मौद्रिक नीति वित्तीय स्थायित्वमा केन्द्रित रहेको उनले बताए । ‘मौद्रिक नीतिको प्रसारण कर्जा र निक्षेपको ब्याजदर, मुद्रास्फीति र विनिमय दरमा हुन्छ,’ उनले भने,‘यो मौद्रिक नीतिलाई नितान्त मौद्रिक नीतिमा सीमित राख्ने, कर्जा नीति र अरु नियामकीय व्यवस्था तथा विवेकशील नियमहरुलाई छुट्याउने काम भएको छ, यो आवश्यक थियो ।’
बैंकको पुँजी पर्याप्तता समस्या सम्बोधन गर्न तथा बजारको मनोबल अभिवृद्धि गर्न आवश्यक छ भन्ने कुरालाई मौद्रिक नीतिले आत्मसात गरेको उनले बताए । ‘ब्याजदरलाई तल–माथि गरेर पैसालाई सस्तो बनाउने अथवा महँगो बनाउने काम मौद्रिक नीतिको हो । अहिलेको अवस्थामा पैसाको यही मूल्यमा सही छ भनेर केन्द्रीय बैंकले दरहरु परिवर्तन नगरेको देखियो,’ उनले भने । बैंक तथा वित्तीय संस्थाको खर्च तथा आम्दानीलाई समेत माद्रिक नीतिले ध्यान दिएको उनले बताए ।
मौद्रिक नीतिले विगतको परम्परालाई परिवर्तन गरेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘नीतिगत व्यवस्था मौद्रिक नीतिमा आउने परम्परा बदलियो,’ कोइरालाले भने,‘ मौद्रिक नीतिले नितान्त मौद्रिक व्यवसथापनको कुरा गर्नुपर्छ, अन्य नीतिगत व्यवस्थाहरु सर्कुलरमार्फत सम्बोधन गरे हुन्छ भन्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको छ ।’ बैंकर्स संघले दिएका सुझाव अधिकांश नीतिगत व्यवस्था तर्फमा रहेको हुनाले केन्द्रीय बैंकले त्यसलाई मौद्रिक नीतिमा नल्याए पनि पछि निर्देशन मार्फत सम्बोधन गर्ने उनको अपेक्षा छ ।
बैंकको वर्गीकरणअनुसार कार्यक्षेत्र, विदेशी ऋणपत्रहरुमा लगानी गर्न पाउने व्यवस्था, ब्याजदर नचलाउने विषयलाई कोइरालाले सकारात्मक रुपमा बुझेका छन् । वित्त नीतिलाई सहयोग गर्ने खालको मौद्रिक नीति आएको कोइरालाको बुझाइ छ ।
सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न ११ प्रतिशतको कर्जा विस्तारका लागि वित्तीय प्रणालीलाई योग्य बनाउने काम मौद्रिक नीतिको रहेको कार्यकारी निर्देशक पौडेलले बताए । कर्जा विस्तार हुने अवरोधहरु सहजीकरण गरेर खुलाउने व्यवस्था मौद्रिक नीतिले गरेको उनले बताए ।
यी हुन् मौद्रिक नीतिका हाइलाइट्स
वाणिज्य बैंकहरुले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने
संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा
बैंक तथा वित्तीय संस्थाको वर्गीकरण अनुसार कार्यक्षेत्र तोकिने
क्रेडिट स्कोरिङ आधारित व्यक्ति–व्यक्ति (पीटूपी) बीच कर्जा
कर्जाको सुरक्षणस्वरुप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने
चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्ने
रुग्ण उद्योगमा रहेका निष्कृय कर्जाको व्यवस्थापन गर्ने
दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्ने, संस्थाको सबलताका आधारमा शेयर कर्जा सीमा निर्धारण हुने
सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजिकरण हुने गरिने ।
मौद्रिक नीतिका लक्ष्यहरू
मूल्यवृद्धि– ५.५ प्रतिशत
निजी क्षेत्रको कर्जा वृद्धि– ११ प्रतिशत
विस्तृत मुद्राप्रदाय (एम–टु) – १४ प्रतिशत
बैंक दर– ५.७५ प्रतिशत
नीतिगत दर– ४.२५ प्रतिशत
निक्षेप संकलन दर– २.७५ प्रतिशत
अनिवार्य नगद मौज्दात– ४ प्रतिशत
वैधानिक तरलता अनुपात
वाणिज्य बैंक– १२ प्रतिशत
विकास बैंक र फाइनान्स– १० प्रतिशत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
सदाचार नीति–२०८३ : नियुक्ति लिनेले अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

२३ असार, काठमाडौं । सरकारले राजनीतिक रुपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । यसअघि सम्बन्धित निकायमा बुझाए पनि हुने व्यवस्था थियो । तर सरकारले हालै जारी गरेको राष्ट्रिय सदाचार नीति, २०८३ ले भने सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको हो ।
यो प्रावधान राजनीतिक दलका तर्फबाट सार्वजनिक पदमा रहने सांसद मन्त्रीहरूदेखि सबै नियुक्ति लिनेहरूका हकमा आकर्षित हुन्छ ।
सार्वजनिक जीवनमा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थागत गर्ने उद्देश्यले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्थालाई प्रमुख प्राथमिकतामा राखेको हो।
नीतिअनुसार वित्तीय पारदर्शिता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ।
निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व देखिएमा त्यसको अग्रिम लिखित खुलासा गर्नुपर्ने र स्वार्थ बाझिने बैठक वा निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने व्यवस्था पनि नीतिमा छ ।
सरकारले सार्वजनिक क्षेत्रमा नैतिक आचरण सुदृढ बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।
राष्ट्रिय सदाचार नीतिले सार्वजनिक क्षेत्र मात्र होइन, नागरिक, निजी क्षेत्र, सञ्चार माध्यम र कूटनीतिक नियोगका लागि समेत आचरणका स्पष्ट मापदण्ड तय गरेको छ।
नागरिकलाई संविधान र कानुनको पालना, सार्वजनिक जीवनमा सक्रिय सहभागिता तथा सामाजिक सद्भाव कायम गर्न प्रेरित गरिएको छ । निजी क्षेत्रलाई कालाबजारी, कार्टेलिङ, गुणस्तरहीन वस्तुको बिक्री तथा अस्वाभाविक नाफाखोरीबाट टाढा रहनुपर्ने उल्लेख छ ।
त्यसैगरी सञ्चार माध्यमलाई तथ्यमा आधारित, निष्पक्ष र सत्य समाचार सम्प्रेषण गर्न तथा गलत सूचना प्रकाशित वा प्रसारित भए तत्काल सच्याउनुपर्ने दायित्व तोकिएको छ। भ्रमपूर्ण सूचना, सूचनाको हेरफेर र स्वार्थप्रेरित प्रचारप्रसारलाई निषेध गरिएको छ।
नीतिले कूटनीतिक आचारसंहितालाई पनि कडा बनाउँदै विदेशी कूटनीतिज्ञसँगको औपचारिक भेटघाट तथा पत्राचार परराष्ट्र मन्त्रालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेको छ ।
साथै, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुन सक्ने गतिविधि, गोप्य सूचना चुहावट तथा मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने कार्य नगर्न स्पष्ट निर्देशन दिइएको छ।
नीतिले सार्वजनिक पदाधिकारी र विधायकलाई सार्वजनिक स्रोत–साधन व्यक्तिगत हितमा प्रयोग गर्न रोक लगाइएको छ।
राजनीतिक दल र गैरसरकारी संस्थालाई हिंसात्मक गतिविधि, निर्वाचन पर्यवेक्षणमा हस्तक्षेप तथा सामाजिक द्वेष फैलाउने गतिविधिबाट टाढा रहन भनिएको छ।
यस्तै, निजी तथा वित्तीय क्षेत्रलाई कार्टेलिङ, कालाबजारी, गुणस्तरहीन वस्तु तथा सेवाको उत्पादन वा बिक्री, अस्वाभाविक नाफा असुली तथा स्वार्थको द्वन्द्व हुने कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
पहिलो हाफमा बेल्जियम २–१ ले अघि

अमेरिकाले सियाटल स्टेडियममा पहिलो हाफको खेल सकिँदा बेल्जियम घरेलु टोलीविरुद्ध २–१ ले अग्रता लिएको हो ।
२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा बेल्जियम अमेरिकाविरुद्ध एक गोलले अघि छ ।
अमेरिकाले सियाटल स्टेडियममा पहिलो हाफको खेल सकिँदा बेल्जियमले घरेलु टोलीविरुद्ध २–१ ले अग्रता लिएको हो ।
खेलको नवौं मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।
त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याए ।
एनपीएल २०२६ को खेलाडी अक्सनपछि यस्तो बने आठ टोली
सोमबार काठमाडौंमा भएको अक्सनबाट १५५ खेलाडीमध्ये ५२ खेलाडी विभिन्न ८ टोलीमा अनुबन्ध भए ।
२२ असार, काठमाडौं । मिनी अक्सनमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ५२ खेलाडी अनुबन्ध भएका छन् । सोमबार काठमाडौंमा भएको अक्सनबाट १५५ खेलाडीमध्ये ५२ खेलाडी विभिन्न ८ टोलीमा अनुबन्ध भए ।
अक्सनमा राष्ट्रिय टोलीका ओपनर एवम् विकेटकिपर ब्याटर आसिफ शेख सर्वाधिक रकममा अनुबन्ध भए । उनलाई अनुबन्ध गर्न चितवन राइनोजबाहेकका ७ टोलीले बोली लगाएका थिए । लक्की ‘ड्र’ मा लुम्बिनी लायन्स भाग्यमानी बन्यो । दोस्रो सिजनको विजेता लुम्बिनीले २० लाखमा आसिफलाई अनुबन्ध गर्यो ।
पहिलो र दोस्रो सिजन मार्की प्लेयरका रुपमा खेलका आसिफलाई यसपटक जनकपुर बोट्सले रिलिज गरेको थियो । घाइते भएर अघिल्लो सिजन गुमाएका विवेककुमार यादव, रुपेश सिंह, तृतराज दास र अर्जुन घर्ती अधिकतम मुल्य १५ लाखमा अनुबन्ध भए ।
अधिकतम मूल्यमा एकभन्दा बढी टोलीले बोली लगाएपछि लक्की ‘ड्र’मार्फत विवेक चितवन, रुपेश विराटनगर, तृतराज जनकपुर र अर्जुन पोखरामा अनुबन्ध भए ।
सुनिल धमला, शंकर राना, भुवन कार्की, नरेन भट्ट र दिपेश कँडेलसहितका केही चर्चित खेलाडी अनशोल्ड हुन पुगे ।
विराटनगर किङ्स

सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगरले रुपेशकुमार सिंहलाई अधिकतम मूल्यमा टोलीमा अनुबन्ध गर्यो । विराटनगरसहित पोखरा, चितवन र सुदूरपश्चिमले रुपेशलाई अधिकतम मूल्यमा खरिद गर्न बोली लगाएका थिए । त्यसमा विराटगनर भाग्यमानी बन्यो ।
अक्सनबाट विराटनगरले रुपेशसहित ६ खेलाडीलाई खरिद गरेको छ । नरेन साउद, दिलसाद अली, सुजन थपलिया, अपराजित पौडेल र प्रतिक श्रेष्ठ अक्सनमार्फत विराटनगरमा भित्रिएका छन् ।
विराटनगरले सन्दीपसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिस जिसी र सुभाष भण्डारीलाई रिटेन गरेको छ ।
अक्सनमार्फत भित्रिएका खेलाडीहरू : रुपेश कुमार सिंह (१५ लाख), नरेन राउद (५ लाख), दिलसाद अली (५ लाख), सुजन थपलिया (४ लाख २५ हजार), अपराजित पौडेल (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र इम्रान शेख (२ लाख) ।
जनकपुर बोल्ट्स

मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको जनकपुरले तिर्थराज दासलाई १५ लाखमा अनुबन्ध गरेको छ । तिर्थलाई किन्न अधिकतम मूल्यमा लुम्बिनी जनकपुरसँगै लुम्बिनीले बोली लगाएको थियो । जसमा जनकपुर भाग्यमानी बन्यो ।
जनकपुरले तिर्थसँगै अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल सुस्लिङलाई अनुबन्ध गरेको छ । अनिल कुमार शाह, ललित नारायण राजवंशी, विकाश आग्री, मायन यादव र आदित्य मेहतालाई भने यसअघि नै रिटेन गरिसकेको छ ।
अक्सनमार्फत भित्रिएका खेलाडीहरू : तिर्थराज दास (१५ लाख), अभिषेक तिवारी (५ लाख), विशाल पटेल (५ लाख), अमरसिंह रौटेला (५ लाख), रित गौतम (४ लाख २५ हजार), सन्तोष कार्की (३ लाख), आशुतोष पाण्डे (२ लाख), विशाल सुस्लिङ (२ लाख) ।
चितवन राइनोज

विवेकुमार यादव लक्की ड्र मार्फत चितवन राइनोजमा भित्रिए । घाइते भएका कारण उनले अघिल्लो संस्करण गुमाएका थिए । यसअघि उनी अधिकतम मूल्य १५ लाखमा चितवनमा अनुबन्धएका हुन् ।
उनीसँगै मौसम ढकाल, अशोक धामी, विपिन रावल, गौतम केसी र सलौद्दिन खानलाई चितवनले अक्सनमार्फत भित्राएको छ । चितवनले आफैले रिलिज गरेका गौतम र विपिनलाई अक्सनमार्फत भित्राएको हो ।
कुशलसहित रिजन ढकाल, दीपक बोहरा, रञ्जित कुमार, कमल सिंह ऐरी, देव खनाल र अर्जुन साउद यसअघि नै रिटेन भइसकेका छन् ।
अक्सनमार्फत भित्रिएका खेलाडीहरू : विवेकुमार यादव (१५ लाख), मौसम ढकाल (३ लाख), अशोक धामी (२ लाख), विपिन रावल (२ लाख), गौतम केसी (२ लाख), सलौद्दिन खान (२ लाख) ।
काठमान्डु गोर्खाज

काठमान्डु गोर्खाजले कम खर्च गर्दै ७ खेलाडी भित्राएको छ । काठमान्डुले साहिल पटेललाई ५ लाखमा अनुबन्ध गरेको छ । त्यसबाहेक अन्य सबैलाई समान २ लाखमा टोलीमा भित्राएको हो । प्रसिद्ध जैसी, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह र सूयान्शु कोइराला काठमान्डुमा भित्रिएका हुन् ।
काठमान्डुले मार्की खेलाडी करण केसीसहित भीम शार्की, आदिल आलम, रशिद खान, सन्तोष यादव र शाहब आलम रिटेन गरेको छ ।
अक्सनमार्फत भित्रिएका खेलाडीहरू : शाहिल पटेल (५ लाख), प्रसिद्ध जैसी (२ लाख), दयानन्द मण्डल (२ लाख), सोनु देवकोटा (२ लाख), कृष्ण पौडेल (२ लाख), देव शाह (२ लाख), सूयान्शु कोइराला (२ लाख) ।
पोखरा एभेन्जर्स

दुवै सिजन सुखद प्रदर्शन गर्न नसकेको पोखराले अर्जुन घर्तीलाई अधिकतम मूल्यमा टोलीमा भित्राएको छ । अर्जुनलाई अधिकतम मूल्यमा खरिद गर्न जनकपुर र पोखरा तयार हुँदा लक्की ‘ड्र’मा पोखरालाई परेको हो । त्यसबाहेक सूदीप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई पोखराले अनुबन्ध गरेको छ ।
मार्की प्लेयर कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दीनेश खरेल रिटेन भएका छन् ।
अक्सनमार्फत भित्रिएका खेलाडीहरू : अर्जुन घर्ती (१५ लाख), सुदीप अर्याल (३ लाख), विवेक रानामगर (२ लाख ७५ हजार), सन्नी विक (२ लाख), प्रतिक पोखरेल (२ लाख), विपिन आचार्य (२ लाख) ।
लुम्बिनी लायन्स

दोस्रो सिजनको च्याम्पियन लुम्बिनीले पहिलो सिजन जिताएका आसिफ शेखलाई भित्राएको छ । दुई सिजन मार्की प्लेयरको रुपमा खेलेका आसिफलाई जनकपुरले रिलिज गर्दा लुम्बिनीले भित्राउने अवसर पाएको हो । उनलाई अनुबन्ध गर्न ७ टोलीले बोली लगाएका थिए । तर, लक्की ‘ड्र’मा लुम्बिनी भाग्यमानी बन्यो ।
लुम्बिनीले किशोर महतोलाई पनि लक्की ‘ड्र’मार्फत भित्राउन पायो । यस्तै आफैले रिलिज गरेको दुर्गेश गुप्तालाई पनि लुम्बिनीले अक्सनमार्फत अनुबन्ध गरेको हो । यसबाहेक आकाश त्रिपाठी, अजय चौहान र अरनिको प्रसाद यादव लुम्बिनीमा भित्रिए ।
कप्तान रोहित कुमार पौडेल, सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, दिनेश अधिकारी, अभिषेश गौतम र तिलक भण्डारी रिटेन भएका खेलाडीको रुपमा छन् ।
अक्सनमार्फत भित्रिएका खेलाडीहरू : असिफ शेख (२० लाख), किशोर महतो (१० लाख), दुर्गेश गुप्ता (५ लाख), आकाश त्रिपाठी (५ लाख), अजय चौहान (२ लाख) र अरनिको प्रसाद यादव (२ लाख) ।
कर्णाली याक्स

कर्णाली याक्सले रिलिज गरेको दुई खेलाडीलाई अक्सनमार्फत भित्रायो । कर्णाली यसअघि रिलिज गरेका विपिनप्रसाद शर्मा र दीपेन्द्र रावतलाई पुनः अनुबन्ध गरेको हो । यसबाहेक शुभ कंशाकार, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मा पनि कर्णालीमा भित्रिए ।
सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सर्राफ, युनिश विक्रम ठाकुरी र युवराज खत्रीलाई कर्णालीले यसअघि नै रिटेन गरिसकेको छ ।
अक्सनमार्फत भित्रिएका खेलाडीहरू : शुभ कंशाकार (१० लाख), विपिनप्रसाद शर्मा (५ लाख), दीपेन्द्र रावत (५ लाख), सूर्य तामाङ (२ लाख), दिवन पुन (२ लाख), सचिन शर्मा (२ लाख) ।
सुदूरपश्चिम रोयल्स

दुईपटक नै उपविजेता बनेको सुदूरपश्चिमले आफैले रिलिज गरेका ३ खेलाडीलाई पुनः टोलीमा अनुबन्ध गरेको छ । दीपक बोहरा, मिलन बोहरा र टेक रावतलाई सुदूरपश्चिमले रिलिज गरेको थियो । अक्सनमार्फत भने पुनः उनीहरूलाइ खरिद गरेको हो । यीबाहेक अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई पनि सुदूरपश्चिमले भित्राएको हो ।
सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको छ ।
अक्सनमार्फत भित्रिएका खेलाडीहरू : दीपक बोहरा (१० लाख), अनिल खरेल (५ लाख), मिलन बोहरा (५ लाख), टेक रावत (२ लाख), सचिन भट्ट (२ लाख), आयुव चन्द (२ लाख) ।
पहिलो हाफमा गोलरहित बराबरीमा पोर्चुगल र स्पेन

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा पोर्चुगल र स्पेन प्रतिष्पर्धा गरिरहेका छन् ।
अमेरिकाको डलास स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हाे ।
पहिलो हाफको खेलमा बल पोजिसनमा स्पेन अगाडि देखिएको छ । बल ५५ प्रतिशत स्पेनको नियन्त्रणमा हुँदा ४५ प्रतिशत पोर्चुगलसँग रह्यो ।
स्पेनले ८ वटा सर्ट प्रहार गर्दा पोर्चुगलले ५ सर्ट प्रहार गर्यो ।







