काभ्रेपलाञ्चोक
+977-9863403002
१९ जेष्ठ २०८३ मंगलवार

विशेष

Auto Added by WPeMatico

राष्ट्रसंघकाे दबाब र ट्रम्पको टेलिफोन वार्ताले तंग्रिएला लेबनान ?
अन्तर्राष्ट्रिय समाचार, अमेरिका र इरान तनाव, लेबनान युद्ध ्, विशेष, शान्ति सम्झौता

राष्ट्रसंघकाे दबाब र ट्रम्पको टेलिफोन वार्ताले तंग्रिएला लेबनान ?



News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई टेलिफोन गरी बेरुतमा बमबारी गर्ने योजना रोक्न चेतावनी दिएका छन् ।
  • संयुक्त राष्ट्रसङ्घको आपतकालीन सुरक्षा परिषद् बैठकमा कूटनीतिज्ञहरूले इजरायललाई दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न र आक्रमणहरू रोक्न आह्वान गरेका छन् ।
  • इजरायली सेनाले दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्त्वपूर्ण ‘बोफोर्ट’ किल्ला कब्जा गर्दै विगत २५ वर्षयताकै सबैभन्दा गहिरो सैन्य हस्तक्षेप गरेको छ ।

१९ जेठ, काठमाडौं । अमेरिका र इरानबीच मध्यपूर्वमा शान्ति स्थापना र युद्धबिरामका लागि उच्च तहमा कूटनीतिक प्रयास भइरहँदा पनि इजरायलले लेबनान र हिजबुल्लाहमाथि आफ्नो सैन्य आक्रमणलाई रोकेको छैन।

अमेरिका र इरानबीच अप्रिलदेखि सुरु भएको युद्धबिरामको खाकालाई लिएर दुवै पक्षको बुझाइ फरक भएको देखिन्छ। इरानले अमेरिकासँग हुने जुनसुकै सम्झौतामा लेबनान र हिजबुल्लाहलाई पनि समेट्नुपर्ने अडान राख्दै आएको छ।

तर, इजरायल र अमेरिका यो सम्झौतालाई केवल इरान-अमेरिका द्वन्द्व, हर्मुज जलमार्ग खुला गर्ने र इरानको आणविक मुद्दामा मात्र सीमित राख्न चाहन्छन्।

यस कूटनीतिक दूरीलाई प्रष्ट पार्दै संयुक्त राष्ट्रसंघका लागि इरानी नियोगले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी अमेरिकासँगको वार्तामा स्पष्ट छौँ। कुनै पनि शान्ति सम्झौता तब मात्र पूर्ण र टिकाउ हुन्छ जब यसले लेबनान र हिजबुल्लाह विरुद्ध भइरहेको इजरायली आक्रामकतालाई पनि समेट्छ। लेबनानलाई बाहिर राखेर गरिने सम्झौता इरानलाई स्वीकार्य छैन।’

यसको विपरीत, अमेरिकी अधिकारीहरूले यो वार्ता क्षेत्रीय नभई द्विपक्षीय सुरक्षामा केन्द्रित रहेको दाबी गरिरहेका छन्।

000

यही कूटनीतिक रस्साकस्सीबीच आइतबार इजरायली सेना दक्षिणी लेबनानको अझ भित्रसम्म पुगेर ‘बोफोर्ट’ किल्ला कब्जा गरेको थियो।

यो किल्ला सन् १९८२ देखि २००० सम्म लेबनानमाथि इजरायलले गरेको लामो सैन्य कब्जाको समयमा इजरायली सेनाको मुख्यालय बनेको थियो। अहिले उक्त किल्लामा यहुदी राज्य इजरायलको निलो र सेतो रङको झण्डा फहराइएको छ।

इजरायली सेना लेबनानको दक्षिणी भूभागको अझ भित्रसम्म प्रवेश गरेपछि त्यहाँ सैन्य कब्जाको त्रास फैलिएको थियो। इजरायलले लेबनानको राजधानी बेरुतका दक्षिणी उपनगरहरूमा आक्रमण गर्ने धम्की दिएपछि त्यहाँ दशौँ हजार मानिसहरू आफ्नो घर छोडेर भागेका थिए। सर्वसाधारणमा आतङ्क सिर्जना भएको थियो।

000

यसै पृष्ठभूमिमा सोमबार संयुक्त राष्ट्रसङ्घको आपतकालीन सुरक्षा परिषद् बैठक बस्यो। फ्रान्सको अनुरोधमा बोलाइएको उक्त बैठक लेबनानमा व्यापक उथलपुथल भइरहेको दिन आयोजना गरिएको थियो।

बैठकमा कूटनीतिज्ञहरूले इजरायललाई दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न आह्वान गरेका थिए। साथै, थप तनाव निम्त्याउने आक्रमणहरू रोक्न पनि भनेका थिए। यस आह्वानमा संयुक्त राज्य अमेरिका मात्र अपवाद रह्यो।

सुरक्षा परिषद्को बैठकमा इजरायलको कदमको सबैभन्दा तिखो आलोचना स्थायी सदस्यहरू फ्रान्स, बेलायत, रुस र चीनबाट भएको थियो। पाँचौँ स्थायी सदस्य अमेरिकाले भने आफ्नो वक्तव्यमा मुख्य रूपमा इरान र हिजबुल्लाहलाई नै दोषी देखाउन केन्द्रित रह्यो। सुरक्षा परिषद्‌मा प्रतिनिधित्व गर्ने देशहरू बहराइन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, पाकिस्तान, डेनमार्क र कोलम्बियाका कूटनीतिज्ञहरूले इजरायललाई तुरुन्तै तनाव कम गर्न आह्वान गरे।

‘ब्लु लाइनभन्दा उत्तरतर्फ इजरायलको उपस्थिति लेबनानको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको स्पष्ट उल्लङ्घन हो,’ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घकी वरिष्ठ अधिकारी मार्था आमा अक्या पोबीले भनिन्, ‘यो सत्रुताको प्रतिध्वनि समग्र क्षेत्रभरि सुनिइरहेको छ।’

‘ब्लु लाइन’ ले इजरायल, लेबनान र गोलान हाइट्सलाई विभाजित गर्छ।

लेबनानी राजदूत अहमद अराफाले आफ्नो देशमाथि बारम्बार हुने आक्रमण रोक्न असफल भएको भन्दै सुरक्षा परिषद्को आलोचना गरे। इजरायलले पाएको यस किसिमको उन्मुक्तिले ‘अपराधीलाई पटकपटक उस्तै अपराध दोहोर्‍याउन थप उत्साहित बनाएको’ अराफाले बताए।

000

सोमबार नै भएको एक टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यन्तै आक्रामक र अमर्यादित शब्दहरू प्रयोग गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हप्काएका थिए। इरानसँग जारी शान्ति वार्ता बिग्रने खतरा बढेपछि ट्रम्प इजरायली प्रधानमन्त्रीमाथि खनिएका हुन्।

कुराकानीका क्रममा ट्रम्पले नेतान्याहुलाई पागलको सङ्ज्ञा दिँदै उनीप्रति कृतघ्नताको आरोप समेत लगाएका थिए। भ्रष्टाचारको मुद्दामा आफूले सहयोग गरेकै कारण उनी जेल जानबाट जोगिएको दाबी ट्रम्पले फोनमा गरेका थिए।

ट्रम्पले नेतान्याहुलाई भनेका थिए, ‘तिमी पूर्ण रूपमा पागल भएका छौ, यदि म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ, मैले तिम्रो रक्षा गरिरहेको छु तर अहिले यो कदमका कारण सबैले तिमी र इजरायललाई घृणा गर्न थालेका छन्।’

ट्रम्पले लेबनानको राजधानी बेरुतमा बमबारी गर्ने इजरायलको योजनामा तत्काल रोक लगाउन आदेश दिँदै त्यसो गरेमा इजरायल एक्लिने चेतावनीसमेत दिएका छन्। अन्तर्राष्ट्रिय समाचार स्रोतका अनुसार, ट्रम्पको उक्त कदमपछि इजरायलले लेबनानमा आक्रमण नगरेको पाइयो।

ट्रम्पले नेतान्याहुसँगको फोन वार्तापछि सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन्। ट्रम्पले अब इजरायली सेना बेरुत नजाने र त्यसतर्फ अघि बढिरहेका सेनाहरू पनि पछि फर्किसकेको बताएका छन्। उनले हिजबुल्लाह सबै प्रकारका आक्रमणहरू रोक्न सहमत भएको जानकारी दिए।

नेतान्याहुले ट्रम्पसँग कुराकानी भएको कुरालाई स्वीकार गरे। तर उनले यसलाई संयमताभन्दा पनि बढी चेतावनीको रूपमा प्रस्तुत गरे। नेतान्याहुले यदि हिजबुल्लाहका आक्रमणहरू रोकिएनन् भने इजरायलले लेबनानको राजधानी बेरुतका लक्ष्यहरूमाथि आक्रमण गर्ने कुरा ट्रम्पलाई बताएका छन्।

उनले इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नो योजनाअनुसार नै सैन्य कारबाही जारी राख्ने कुरा पनि गरे। यस विषयमा हिजबुल्लाहको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

000

यसैबीच, लेबनानी अधिकारीहरूले अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अघि सारेको एउटा प्रस्तावमा हिजबुल्लाहको सहमति जुटाएका छन्।

अमेरिकास्थित लेबनानी दूतावासद्वारा जारी विज्ञप्तिअनुसार, उक्त प्रस्तावमा इजरायलले बेरुटको दक्षिणी उपनगरहरूमा आक्रमण नगर्ने र बदलामा हिजबुल्लाहले पनि उत्तरी इजरायललाई निशाना नबनाउने उल्लेख छ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयमित रहन आग्रह गर्दै सन्देश जारी गरेको केही क्षणमै इजरायलले लेबनातर्फबाट मिसाइल प्रहार भएको पत्ता लगाएको छ।

मिसाइल आक्रमणको चेतावनीसँगै इजरायलले उत्तरी क्षेत्रका आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानतर्फ जान सचेत गराएको छ। ट्रम्पको उक्त भनाइ इजरायली सरकारले बेइतको दक्षिणी उपनगरहरूमा आक्रमणको आदेश दिएको र हिजबुल्लाहले तटीय शहर हाइफाको बाहिरी इलाकासहित उत्तरी इजरायलमा रकेट प्रहार गरिरहेकै बेला सार्वजनिक भएको हो।

000

दुवै पक्षबीच अप्रिलको मध्यदेखि युद्धबिराम लागु भएको थियो। तर इजरायलले लेबनानमा गरेको आक्रमणपछि हिजबुल्लाहले पुनः प्रत्याक्रमण सुरु गर्‍यो। इजरायलले भने उक्त आक्रमणलाई आफ्नो आत्मरक्षाको कदम बताएको छ।

यो लडाइँ इरान युद्धमा युद्धबिराम लम्ब्याउने प्रयास भइरहेको नयाँ सम्झौताका लागि पनि ठूलो अवरोध बनेको छ। तेहरान आफूसँग हुने जुनसुकै सम्झौतामा लेबनानलाई पनि समेट्न चाहन्छ। इरानले अमेरिकासँगको शान्ति सम्झौताका लागि लेबनानसहित सबै मोर्चामा सत्रुताको अन्त्य हुनुपर्ने सर्त अघि सारेको छ।

इरानी सशस्त्र बलले उत्तरी इजरायलका बासिन्दाहरूलाई चेतावनी जारी गर्दै यदि इजरायलले बेरुतमा आक्रमण गरेमा सो क्षेत्र छोड्न भनेको छ।

उता, इजरायलले इरानसँगको वार्तालाई थाती राखेर लेबनानसँग छुट्टै प्रत्यक्ष कूटनीतिक संवाद चलाइरहेको छ। इजरायलको मुख्य माग हिजबुल्लाहलाई पूर्ण रूपमा निरस्त्र गर्ने र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव १७०१ पूर्ण कार्यान्वयन गर्ने रहेको छ।

यस प्रस्तावले दक्षिणी लेबनानमा हिजबुल्लाहको हतियारसहितको उपस्थिति निषेध गर्छ। इजरायली प्रधानमन्त्री नेतान्याहु अझै पनि यस विषयमा दृढ देखिन्छन्।

इजरायली सेनाले हालै लेबनानको दक्षिणी क्षेत्रमा विगत २५ वर्ष यताकै सबैभन्दा गहिरो सैन्य हस्तक्षेप गर्दै ब्युफोर्ट किल्ला लगायतका रणनीतिक स्थानहरू नियन्त्रणमा लिएको छ। कूटनीतिक टेबलमा कुनै पनि अन्तिम सम्झौता हुनु अगाडि इजरायल बढीभन्दा बढी भूभाग आफ्नो सैन्य नियन्त्रणमा लिएर हिजबुल्लाहलाई कमजोर बनाउन चाहन्छ। सुरक्षा विश्लेषकहरूका अनुसार इजरायल सम्झौता हुनुअघि भूराजनीतिक रूपमा ‘अप्पर ह्यान्ड’ मा रहन चाहन्छ।

पूर्ण युद्धबिरामको खोजीमा रहेका लेबनानी वार्ताकारहरूले इजरायलसँग मङ्गलबार र बुधबार वासिङ्टनमा तय भएको वार्तामा आक्रमण नगरिने क्षेत्रहरूको दायरा अझ फराकिलो बनाउने अपेक्षा राखेका छन्।




लेखक

कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


काभ्रेका ४७९ बस्ती बाढीपहिरोको उच्च जोखिममा, छैन पर्याप्त उद्धार सामग्री
काभ्रे, बाढी पहिरो, मनसुन विपद्, विशेष

काभ्रेका ४७९ बस्ती बाढीपहिरोको उच्च जोखिममा, छैन पर्याप्त उद्धार सामग्री

२०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरोको चपेटामा परेका काभ्रेका घर । फाइल फोटो



News Summary

Generated by OK AI. Editorially reviewed.

  • काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका ४७९ बस्ती मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको विवरण सार्वजनिक गरिएको छ ।
  • प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न नसकिने बताए ।
  • काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी बेथानचोक गाउँपालिकाका करिब १०० र सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकाका ५ बस्ती उच्च जोखिममा छन् ।

१९ जेठ, काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्का कारण  काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा जोखिममा रहेको बस्तीको विवरण सार्वजनिक गरिएको हो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय तहगत रुपमा बस्तीको जोखिमयुक्त प्रतिवेदन पेस गरेका थिए । गुरागाईंद्वारा प्रस्तुत तथ्यांकअनुसार ४७९ बस्ती उच्च जोखिममा रहेका, २०९ बस्ती खुला स्थानमा रहेका छन् । १९२ बस्ती सुरक्षित स्थानमा रहेका र ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको समेत व्यवस्था गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न नसकिने बताए । उनले भने, ‘हालको अवस्थामा स्थानान्तरण गर्न सकिँदैन, ती बस्तीलाई निगरानीमा राखेर विपद्ले क्षति पुर्‍याए, स्थानीय सुरक्षाकर्मीद्वारा ‘क्वीक रेस्पोन्स’ गर्नसम्म सकिन्छ ।’ उनका अनुसार जिल्लामा आवश्यक उद्धार सामग्री पर्याप्त छैन ।

बैठकमा स्थानीय तहलाई युवालक्षित विपद् प्रतिकार्यको तालिम दिन तथा विपद्पछि राहत उद्धारका लागि सकेसम्म आवश्यक सामग्री खरिद गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।

समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्यांकका आधारमा उक्त जनसंख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको हो ।

‘विशेषगरी यस वर्षको बाढीपहिरोले जिल्लाका रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चाखोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौं,’ समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अधिकारीले भने ।

उनका अनुसार काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन् । समितिलाई स्थानीय तहद्वारा प्राप्त तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी बेथानचोक गाउँपालिकामा करिब १०० बस्ती र सबैभन्दा कम चौँरी देउराली गाउँपालिकामा पाँच बस्ती उच्च जोखिममा छन् ।

यस्तै, धुलिखेल नगरमा २५, बनेपा र नमोबुद्ध नगरमा ५०/५०, पाँचखाल नगरमा ८३, पनौती नगरमा १५, मण्डनदेउपुर नगरमा १५ तथा तेमाल गाउँपालिकामा ३५, रोशी गाउँपालिकामा १२, भुम्लु गाउँपालिकामा ४०, खानीखोला गाउँपालिकामा ३० र महाभारत गाउँपालिकामा १९ परिवार विपद्को जोखिममा रहेका छन् ।

विसं २०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्तामा सूचीकृत भएका छन् । कार्यालयका अनुसार उक्त घटनामा ७५ जना घाइते भएका थिए ।

बाढी पहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना थिए । त्यतिबेला काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।

काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको थियो । यीमध्ये २१ विद्यार्थी थिए ।

–राससबाट





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


नेपाल कसैको उपनिवेश नबनेको थाहा पाउँदा रोचक लाग्यो : अमेरिकी उपविदेशमन्त्री रोजर्स
नेपाल अमेरिका सम्बन्ध, विशेष, सारा बी. रोजर्स

नेपाल कसैको उपनिवेश नबनेको थाहा पाउँदा रोचक लाग्यो : अमेरिकी उपविदेशमन्त्री रोजर्स



News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपाललाई अमेरिकाको महत्त्वपूर्ण र बलियो साझेदारका रूपमा उल्लेख गरिन्।
  • अमेरिकाले वैदेशिक सहायताभन्दा व्यापारको नीति लिएको र एमसीसी परियोजना महत्त्वपूर्ण भएको उनले बताइन्।
  • खराब भाष्य वा प्रोपोगान्डा रोक्ने नाममा सरकारले इन्टरनेट सेन्सरसिप गर्न नहुने कुरा उनले बताइन्।

१९ जेठ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले अमेरिकाले नेपाललाई एक महत्त्वपूर्ण र बलियो साझेदारको रूपमा लिएको बताएकी छन्।

तीन दिने भ्रमणका लागि नेपाल आएकी रोजर्सले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको प्रविधि क्षेत्रको विकास, एमसीसी परियोजना, वाक् स्वतन्त्रता र भूराजनीतिक विषयमा अमेरिकी धारणा स्पष्ट पारेकी हुन्।

परराष्ट्रमन्त्री शिशिर खनाल र सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासँगको भेटघाट निकै फलदायी रहेको बताउँदै उनले अमेरिका नेपालसँग आर्थिक सम्बन्ध बलियो बनाउन, व्यावसायिक वातावरण सुधार्न र डिजिटल पहुँच विस्तार गर्न तत्पर रहेको बताइन्।

प्रविधिमा लगानी र स्टारलिंकको प्रसङ्ग

उपविदेशमन्त्री रोजर्सले नेपालमा नवप्रवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै नेपालको प्रविधि क्षेत्रलाई ‘सिलिकन भ्याली’ को सम्भावनासँग तुलना गरिन्। ‘हामी आर्टिफिसियल इन्टेलिजेन्स र डाटा सेन्टरमा लगानी गर्न नेपालमा अनुकूल व्यावसायिक वातावरण बनोस् भन्ने चाहन्छौँ,’ उनले भनिन्।

पत्रकार सम्मेलनमा बहुचर्चित स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक नेपाल आउने विषयमा सोधिएको प्रश्नमा उनले नेपालको आन्तरिक प्रक्रिया र सार्वभौमसत्ताको पूर्ण सम्मान गर्ने स्पष्ट पारिन्। ‘अमेरिकी कम्पनीहरूसँग कसरी र कहिले व्यवसाय गर्ने भन्ने कुरा नेपाल र ती कम्पनीहरूमा भर पर्छ। तर यहाँ इन्टरनेट कनेक्टिभिटी अझै बढेको देख्न पाउँदा हामी खुसी हुनेछौँ,’ उनले भनिन्।

एमसीसी र सहायताभन्दा व्यापारको नयाँ नीति

५५ करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको अर्थतन्त्र र ऊर्जा भविष्यका लागि महत्त्वपूर्ण लगानी भएको रोजर्सले बताइन्। अहिले कार्यान्वयनको चरणमा रहेको यस परियोजनालाई नेपाल सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ थियो।

सो क्रममा उनले अमेरिकी वैदेशिक सहायताको ढाँचामा आएको परिवर्तनबारे पनि जानकारी दिइन्। युएसएड अब छुट्टै एजेन्सीको रूपमा अस्तित्वमा नरहेको स्पष्ट पार्दै उनले अब विदेश मन्त्रालय अन्तर्गतको नयाँ वैदेशिक सहायता कार्यालयमार्फत काम भइरहेको बताइन्।

अमेरिकाले अब सहायताभन्दा व्यापारको नीति लिएको बताउँदै उनले भनिन्, ‘हामी देशहरूसँग समान स्तरमा सम्झौता गर्न चाहन्छौँ, केवल पैसा दिएर फर्किन होइन । एमसीसी एउटा वास्तविक साझेदारी हो, जसमा नेपालले पनि आफ्नो तर्फबाट करिब १९ करोड ७० लाख डलर लगानी गरेको छ।’

सामाजिक सञ्जाल नियमन र वाक् स्वतन्त्रता

ट्रम्प प्रशासनमा सामेल हुनुअघि वाक् स्वतन्त्रताको पक्षमा र सेन्सरसिपको विपक्षमा वकालत गर्ने वकिलको रूपमा काम गरेकी रोजर्सले इन्टरनेट सेन्सरसिपको कडा आलोचना गरिन् । नेपाल सरकारले डिजिटल स्पेस नियमन गर्न खोजिरहेको सन्दर्भमा उनले सरकारले नागरिकलाई ‘के सोच्ने वा के हेर्ने’ भनेर निर्णय गर्न नपाउने बताइन्।

नेपालमा अमेरिका, चीन र भारतबीचको बढ्दो भूराजनीतिक प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा उपविदेशमन्त्री रोजर्सले अमेरिकाको ध्यान केवल नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धमा मात्र रहेको स्पष्ट पारिन्।

नेपाली सञ्चारमन्त्रीसँगको बैठकमा आफूले प्रविधिको स्वतन्त्रता र सामाजिक सञ्जालका बारेमा छलफल गरेको र त्यो फलदायी भएको उनले बताइन् । ‘मलाई लाग्छ ८-९ सेप्टेम्बरमा भएको आन्दोलन (जेनजी आन्दोलन) इन्टरनेट सेन्सरसिपको विरुद्धमा भएको थियो । मानिसहरु एक आपसमा स्वतन्त्र रुपमा संवाद गर्न चाहन्छन् । त्यो स्वतन्त्रता खोसिएको अवस्थामा त्यसको विरोध हुन्छ । त्यो यहाँ पनि भयो अन्यत्र पनि हुन्छ । ’

तर यसको अर्थ सरकारले कुनै पनि हिसाबले नियमन गर्नै हुन्न भन्ने नभएको उनले बताइन् । ‘यसको प्राविधिक पक्षहरु वा अन्य कानूनी पक्षका कुराहरु नेपाल सरकार र अमेरिकी कम्पनीको विषय भए । त्यो उनीहरुमा नै निर्भर हुन्छ । तर सञ्चारमन्त्रीसँगको बैठकपछि म के कुरामा विश्वस्त छु भने प्रविधिको स्वतन्त्रता नेपाल सरकारको पनि प्रतिबद्धता हो ।’

अमेरिकी जनता इन्टरनेट स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र सामाजिक सञ्जालमा आफूले के लेख्ने वा के सोच्ने भन्ने विषयमा सरकारको निगरानी नचाहने उनले बताइन् ।

‘वाक् स्वतन्त्रताले हामीलाई ठगी वा बालयौन दुर्व्यवहार जस्ता अपराध नियमन गर्न रोक्दैन। तर खराब भाष्य वा प्रोपोगान्डा रोक्ने नाममा सेन्सरसिप गर्नु हुँदैन,’ उनले भनिन्। गलत सूचना र डिपफेक रोक्न आर्टिफिसियल इन्टेलिजेन्स नै एउटा प्रभावकारी उपकरण बन्न सक्ने उनको तर्क थियो।

भूराजनीतिक चासो र नेपालको प्रशंसा

नेपालमा अमेरिका, चीन र भारतबीचको बढ्दो भूराजनीतिक प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा उपविदेशमन्त्री रोजर्सले अमेरिकाको ध्यान केवल नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धमा मात्र रहेको स्पष्ट पारिन्।

नेपाल कहिल्यै पनि कसैको उपनिवेश नभएको ऐतिहासिक तथ्यको प्रशंसा गर्दै उनले भनिन्, ‘मलाई पाटन दरबार जाँदा सबैभन्दा रोचक लागेको कुरा के हो भने, महान् सभ्यताहरूको दोबाटोमा भए तापनि तपाईंहरू कसैको उपनिवेश बन्नुभएन वा कसैबाट पराजित हुनुभएन।’ नेपाललाई दुई ढुङ्गाबीचको तरुलभन्दा पनि विश्वभर प्रख्यात ‘गोलभेँडा’ सँग तुलना गर्दै उनले ठट्टा समेत गरेकी थिइन्।

सांस्कृतिक कूटनीति र आगामी वार्षिकोत्सव

आफ्नो भ्रमणका क्रममा एसेन्ट समिट २०२६ को उद्घाटन गरेकी रोजर्सले नेपाल र अमेरिकाबीच साहसिक पर्यटन र पर्वतारोहणको साझा परम्परा रहेको बताइन्। सन् २०२५ मा मात्रै १ लाख १२ हजार अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले यसलाई वास्तविक साझेदारीको संज्ञा दिइन्।

पाटन दरबार स्क्वायरमा अमेरिकी सहयोगमा भइरहेको सम्पदा पुनर्निर्माणको अवलोकन गरेकी उनले त्यहाँको शिल्पकारिता र पुस्तान्तरणको निरन्तरताले आफूलाई निकै प्रभावित पारेको बताइन्।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७९ वर्ष पूरा भएको र अर्को वर्ष ८०औँ वार्षिकोत्सव मनाउने तयारी भइरहेको जानकारी दिँदै रोजर्सले आगामी दिनमा दुई देशबीचको साझेदारी थप बलियो र फराकिलो हुने विश्वास व्यक्त गरिन्। तर यस अवसरमा कुनै उच्चस्तरीय भ्रमण हुने नहुनेबारे उनले केही बताइनन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, भाजपा नेतृत्वलाई भेट्ने
भारत भ्रमण, रवि लामिछाने, विशेष

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, भाजपा नेतृत्वलाई भेट्ने




१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत जाँदै छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले आज भारत जान लागेका हुन् ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनेछन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।

रास्वपाले यो भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबिचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


नेपालले भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
भीम रावल, विशेष

नेपालले भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल



News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहलाई पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन्।
  • प्रधानमन्त्री शाहले संसदमा नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै नेता रावलले आपत्ति जनाएका छन्।
  • रावलले नेपालले भारतको जग्गा कहाँ र कहिले मिचेको हो भन्नेबारे तत्काल स्पष्ट पार्न माग गरेका छन्।

१७ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसद्‍मा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार नभएको बताएका हुन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको उत्तर दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।

रावलले लेखेका छन्- ‘आज २०८३ साल जेठ १७ गते नेपाल र नेपाली जनताको लागि एउटा विस्मयको दिन भएको छ । किनकि देशको सार्वभौमसत्ता अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले “प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ” भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नुभएछ । नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।’

उनले अगाडि लेखेका छन्, ‘जो व्यक्ति संसद्‍मा ‍ यस्तो अभिव्यक्ति दिएर प्रकारान्तरले आफ्नो भू-भाग अरू देशलाई सुम्पने किसिमको अभिव्यक्ति संसद्‍मा दिन्छ र प्रधानमन्त्री नहुँदा अघिसम्म आफूलाई आफ्नो देशको भूभागबारे जानकारी नभएको भन्ने अर्थमा बोल्छ त्यस्तो व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहर्दैन त ?’

प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको छ, तत्काल नेपाली जनतालाई जानकारी गराउनुपर्ने माग उनले गरेका छन् ।

कहिल्यै कसैको अधिनमा नगएको स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नेपाली जनताले तत्काल प्रधानमन्त्रीको जवाफ माग्नुपर्ने उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘झन्डै दुई तिहाइ बहुमतका साथ नेपाल सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र त्यसका सांसद र सदस्यहरूको धारणा नेपाली जनताले तत्काल पाउनुपर्छ र जनताले त्यस्तो जवाफ खोज्नुपर्छ ।’





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


 ‘प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्तिले भारतसँग नेपालको अडान कमजोर भयो’
अन्तर्वार्ता, नीलाम्बर आचार्य, विशेष

 ‘प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्तिले भारतसँग नेपालको अडान कमजोर भयो’



News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको संसद्‌को अभिव्यक्तिले राजनीतिक र कूटनीतिक वृत्त तरङ्गित बनेको छ ।
  • पूर्वराजदूत नीलाम्बर आचार्यले कालापानीको सैनिक अतिक्रमण र सीमावर्ती क्षेत्रको स्थानीय घरायसी जग्गा खिचोला नितान्त फरक विषय भएको स्पष्ट पारेका छन् ।
  • प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण भनाइले भारतसँगको सीमा विवाद समाधान प्रक्रियामा नेपालको कूटनीतिक अडान र बार्गेनिङ पावर कमजोर बनाउने आचार्यले बताए ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि राजनीतिक  र कूटनीतिक बृत्त तरंगित छ । उनले प्रधानमन्त्रीले नै देशले सीमा मिचेको अभिव्यक्ति दिनुले उनको कूटनीतिक परिपक्वतामाथि पनि प्रश्न उठेको छ । नेपाल र भारतबीचका समस्याहरू पहिचान र समाधान गर्नका लागि बनेको नेपाल भारत प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी) का सदस्य एवं भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

प्रधानमन्त्रीले आज संसद्‌मा सम्बोधन गर्ने क्रममा सोधिएका प्रश्नहरूको जवाफ दिँदै ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको छ। तपाईंले प्रबुद्ध व्यक्ति समूह (इपीजीमा रहेर पनि काम गर्नुभयो । तपाईंहरूको अध्ययन र अनुभवका आधारमा नेपाल-भारत सीमा समस्याको वास्तविक स्थिति के देखिन्छ ?

सीमा समस्याको सन्दर्भमा नेपालले भारततर्फको सीमा मिचेर कतै पनि आफ्नो सैनिक टोली वा सुरक्षाकर्मी तैनाथ गरेको स्थिति छैन । जबकीकालापानीलिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षबाट त्यस्तो कार्य भएको हामी स्पष्ट देख्छौँ ।

यो तथ्य पटक-पटक सार्वजनिक जानकारीमा आइसकेको विषय हो र नेपाल सरकारले यसमा निरन्तर विरोध पनि जनाउँदै आएको छ।

त्यसैलेकालापानी र लिम्पियाधुराको गम्भीर अतिक्रमणको स्थितिलाई अन्य सीमा क्षेत्रमा स्थानीय बासिन्दाबीच हुने सामान्य जग्गा खिचोलसँग एउटै डालोमा राखेर तुलना गर्न मिल्दैन।

सीमा क्षेत्रमा जग्गाको भोगचलनलाई लिएर के-कस्ता समस्याहरू छन्?

प्राविधिक रूपमा धेरै ठाउँमा सीमाको कुरा टुङ्गिसकेको छ। दुई देशबीच कुरा मिलिसक्दा पनि कतिपय सीमावर्ती क्षेत्रमा दुवैतर्फका बासिन्दाहरूले यताउता जग्गा उपभोग गरिरहेको स्थिति भने पक्कै छ।

तरयो प्राविधिक र व्यावहारिक समस्या हो । यस्ता व्यावहारिक समस्याहरूलाई दुवै पक्ष बसेर मिलाउनुपर्छ भन्नेमा नेपाल र भारतबीच पहिले नै सहमति भइसकेको छ। यसलाई सीमा मिचेको रूपमा व्याख्या गर्नु सही हुँदैन।

सामान्यतया नेपाल र भारतबीच ९७ देखि ९८ प्रतिशत सीमा क्षेत्रमा प्राविधिक सहमति भइसकेको छ । सुस्ता तथा कालापानी जस्ता बाँकी २-३ प्रतिशत क्षेत्रलाई थाती रहेका विषयका रूपमा विशेष श्रेणीमा राखिएको बताइन्छ ।

यी विवादित क्षेत्रको समाधान परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट खोज्ने सहमति भएपनि त्यसको बैठक लामो समयदेखि बस्न सकेको छैन ।

यस्तो पृष्ठभूमिमा आज संसद्‌मा प्रधानमन्त्रीबाट नेपालले पनि भारतको सीमा मिचेको छ‘ भन्ने अभिव्यक्ति किन आयो होलायसको राजनीतिक तथा कूटनीतिक असर के हुन्छ ?

यहाँ प्रधानमन्त्रीजीले दुईवटा बिल्कुलै फरक र आपसमा जोड्न नमिल्ने विषयहरूलाई एकै ठाउँमा मिसाएर प्रस्तुत गर्नुभयो । जसका कारण ठूलो भ्रम सिर्जना हुन पुगेको छ ।

कालापानी-लिम्पियाधुरामा भएको राज्यस्तरको सैन्य अतिक्रमण र अन्य सीमा क्षेत्रमा स्थानीय बासिन्दाहरूबीच भोगचलनको क्रममा हुने जग्गाको घरायसी खिचोला नितान्त फरक कुरा हुन् । कूटनीति र देशको सीमा जस्तो संवेदनशील विषयमा यसरी सतही रूपमा बोल्दा राष्ट्रिय हितमा आँच पुग्छ।

नेपालले अहिलेसम्म भारतले नेपाली भूमि मिचेको छ‘ भन्ने बलियो र एकढिक्का अडान राख्दै आएको थियो। तरदेशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को तर्फबाटै नेपालले पनि भारतको सीमा मिचेको छ‘ भन्ने अभिव्यक्ति आएपछि सीमा विवाद समाधानको प्रक्रियामा नेपालको कूटनीतिक अडानयसले कमजोर बनाउँछ ?

यसको कूटनीतिक असर निकै गम्भीर र नकारात्मक हुन सक्छ। नेपालले अन्तर्राष्ट्रिय र द्विपक्षीय मञ्चहरूमा ऐतिहासिक दस्तावेज र नक्साका आधारमा जुन बलियो कानूनी अडान राख्दै आएको थियोप्रधानमन्त्रीको यो गैरजिम्मेवारपूर्ण भनाइले त्यसलाई कमजोर बनाउने काम गर्छ।

विपक्षी पक्षलाई नेपाल आफैँले सीमा मिचेको स्वीकार गर्‍यो भनी तर्क गर्ने ठाउँ मिल्छ। देशको प्रधानमन्त्रीले प्रमाण र तथ्यविना संसद् जस्तो गरिमामय ठाउँमा यसरी बोल्नु कूटनीतिक असफलता हो र यसले भोलि भारतसँग वार्ता गर्दा नेपालको बार्गेनिङ पावर (अडान राख्ने क्षमता) लाई निकै कमजोर तुल्याउँछ।

प्रधानमन्त्रीको यस्तो त्रुटिपूर्ण अभिव्यक्तिको बचाउ कसरी हुन सक्छ रराज्यस्तरबाटै नेपालले भारतको सीमा मिचेको भए त भारतले पनि कूटनीतिक नोट पठाएर नेपालले यस क्षेत्रबाट आफ्नो सैनिक टोली फिर्ता लैजाओस्‘ भन्नुपर्ने हो नि । के भारतले अहिलेसम्म कतै त्यस्तो भनेको सुन्नुभएको छ छैन। जबकिहामीले भारतलाई कालापानीलिपुलेक र लिम्पियाधुराबाट आफ्नो सेना फिर्ता लैजाऊ‘ भनेर बारम्बार भन्दै आएका छौँ।

अतिक्रमण कस्तो हुन्छ भन्ने त कालापानी र लिम्पियाधुराको स्थितिले नै देखाउँछजहाँ भारतको सैन्य नियन्त्रणका कारण नेपालीहरू आफ्नै भूमिमा समेत जान पाउँदैनन्। नेपालले भारतको कुनै पनि भूभागमा त्यसरी सैन्य तैनाथी गरेर स्थायी रूपमा भारतीयहरूलाई आउनै नदिएको अवस्था कतै छ र ?

सीमा क्षेत्रमा स्थानीयस्तरका सानातिना समस्याहरू हुनु बेग्लै कुरा होतर संसद्‌मा एउटा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि अन्यत्र सीमा मिचेको छ‘ भन्नु नितान्त त्रुटिपूर्ण र तथ्यहीन कुरा हो।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको भोलिदेखि भारत भ्रमण हुँदैछ। उहाँ यो भ्रमणमा निस्कनु ठीक अगाडि प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुलाई कसरी हेर्नुहुन्छयो भ्रमण र प्रधानमन्त्रीको भनाइबीच कुनै राजनीतिक सन्दर्भ वा संयोग जोडिएको हुन सक्छ ?

घटनाहरूलाई जोड्न त जसले जहाँ पनि जोडिदिन सक्छन्तर म यी दुई विषयलाई आपसमा जोड्ने पक्षमा छैन । प्रधानमन्त्रीको यो अभिव्यक्ति कुनै कूटनीतिक रणनीतिका साथ आएको भन्दा पनि संसद्‌मा तत्काल जवाफ दिने क्रममा भएको गम्भीर त्रुटि र असंवेदनशीलताको परिणाम बढी देखिन्छ।

म यी दुई कुरालाई जोड्ने पक्षमा छैन। नेपालमा ठूलो जनमत पाएर सरकारमा सामेल भएको दलको प्रमुख नेताजसलाई उहाँहरू सभापति भन्नुहुन्छउहाँको यो भ्रमणले हाम्रो घनिष्ठ छिमेकी भारतसँगको सम्बन्धलाई अझ सुदृढ र राम्रो बनाउन मद्दत गर्नेछ भन्ने म ठान्दछु।

भारतसँग हाम्रा धेरै सकारात्मक र सहयोगात्मक पक्षहरू छन्साथै कतिपय थाती रहेका समस्याग्रस्त विषयहरू पनि छन्। त्यसैले यो भ्रमण आफैँमा महत्त्वपूर्ण छ। यसले आगामी दिनमा हुने अन्य उच्चस्तरीय भ्रमणहरूका लागि बाटो खोल्नेछ र जहाँ हाम्रो घनिष्ठ सहयोग छ ।  त्यसलाई अझ विस्तार गर्दै समस्याहरू समाधान गर्न मद्दत पुर्‍याउनेछ। प्रधानमन्त्रीको भनाइले यो भ्रमणलाई नकारात्मक रूपमा प्रभाव पार्ला कि भनेर आशङ्का गरिरहनु आवश्यक छैन।

सीमा विवाद समाधानको प्रसङ्गमातपाईंहरूले इपीजीमामा रहँदा पनि केही महत्त्वपूर्ण सिफारिसहरू गर्नुभएको थियोतर त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । अब यो सीमा विवादको स्थायी समाधान कसरी हुन सक्छ भन्ने ठान्नुहुन्छ ?

सीमा विवाद समाधानका लागि ऐतिहासिक दस्तावेजतथ्य र दुई देशबीचको कूटनीतिक संवाद नै एक मात्र माध्यम हो । जहाँसम्म इपिजीको प्रसङ्ग छमेरो यति मात्र अनुरोध छ कि इपिजी प्रतिवेदनका विस्तृत विषयहरूका सन्दर्भमा नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाज्यूसँग बुझ्नुभयो भने अझ बढी स्पष्ट हुनेछ।

इपिजीको प्रतिवेदन नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाज्यूसँग सुरक्षित छ। त्यति मात्र होइनयो प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पनि सुरक्षित राखिएको छ। आवश्यक परेमा त्यसलाई मन्त्रालयबाट लिएर वा बुझेर हेर्दा पनि भइहाल्छ नि। यसमा कहाँ के कस्ता विषयहरू समेटिएका छन् भन्ने कुरा स्पष्ट छ।

मुख्य कुरा के हो भनेयो प्रतिवेदन दुवै देशका प्रतिनिधिहरूको पूर्ण सहमतिमा तयार पारिएको हो। नेपालका तर्फबाट चार जना र भारतका तर्फबाट चार जना गरी आठै जना सदस्य यसमा सहमत भएका हुन्। दुवै देशका प्रधानमन्त्री र क्याबिनेट तहबाटै प्रबुद्ध व्यक्ति‘  भनी स्वीकार गरिएका व्यक्तिहरूले लामो गृहकार्य गरी सहमति जुटाएर यो प्रतिवेदन तयार पारेका हुन्।

यसरी पूर्ण सहमतिमा दस्तावेज तयार भइसकेपछिअहिले आएर कसले कुन दबाबमा के भन्यो वा भन्दै छ भन्ने कुराको कूटनीतिक रूपमा कुनै अर्थ रहँदैन। त्यो साझा सहमतिको प्रतिवेदन हो र त्यसको आफ्नै कूटनीतिक ओज छ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


जडिबुटीमा गोली चलाएर प्रहरीले समात्यो लुटेरा
प्रहरी, विशेष

जडिबुटीमा गोली चलाएर प्रहरीले समात्यो लुटेरा



News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौंको जडीबुटीमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न गणेश कार्कीलाई पक्राउ गरेको छ ।
  • शनिबार सुकेधारामा महिलाको सुन लुटपाट गरेको आरोप लागेका कार्कीको बायाँ खुट्टामा गोली लागेको छ ।
  • प्रहरीका अनुसार घाइते कार्कीको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

१६ जेठ, काठमाडौं । काठमाडौंको जडिबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ

जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

शनिबार दिउँसो सुकेधारमा एक महिलामाथि लुटपाट भएको थियो । उनको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।
सो घटनामा सलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो। । अर्का एकजनालाई भने साझ जडिबुटीबाट गोली चलाएर पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका व्यक्ति ट्रमा सेन्टरमा उपचाररत छन् । उनको बायाँ खुट्टामा चोट लागेको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


हामी टाउको लुकाएर भाग्नुपर्ने अवस्था छैन : माधव नेपाल
माधव नेपाल, विशेष

हामी टाउको लुकाएर भाग्नुपर्ने अवस्था छैन : माधव नेपाल



News Summary

Generated by OK AI. Editorially reviewed.

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरूसामु टाउको लुकाएर हिँड्नुपर्ने अवस्था आफ्नो पार्टीको नरहेको जिकिर गरेका छन्।
  • उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सिटलाई ‘सुनामी’ को संज्ञा दिँदै यसका पछाडिका कारणहरू खोजी भइरहेको बताए।
  • नेपालले वि.सं. २०४७ को संविधान निर्माणदेखि नै महिला र दलितको उपस्थिति अनिवार्य गराउन आफूहरूले पहल गरेको दाबी गरे।

१६ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरूसामु टाउकु लुकाएर हिंड्नुपर्ने अवस्था आफ्नो पार्टीको नरहेको जिकिर गरेका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई निजक सिटलाई सुनामीको संज्ञा समेत दिए । यसको पछाडिका कारणहरू अहिले खोजी भइरहेको उनको भनाइ छ ।

‘विरोधीहरू आक्रामक, हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन । केही आवश्यकता छैन भाग्नुपर्ने । यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो यो । यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ । बेला–वखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेले,’ उनले अघि भने, ‘के–के हो ? सेनाको भूमिका कस्तो रह्यो ? सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने पनि छ ।’

नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख उनले सम्बोधनको क्रममा गरे ।

‘चाहे राष्ट्रपति होस् उपराष्ट्रपति होस्, चाहे त्यो जुनसुकै राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रमुख सभामुख उपसभामुख होस्, यी सबै ठाउँहरूमा पनि महिलाहरूको पनि उपस्थिति अनिवार्य हुनुपर्दछ भनेर हामीले व्यवस्था पनि गरेका छौँ । त्यसैले यी सबै कुरा यी अहिले जितेका पार्टीका मान्छेलाई सोध्नुस् त थाहा छ उनीहरूलाई ? उनीहरूले कुनै भूमिका खेलेका छन् ? त्यो बेलामा भूमिका खेल्ने को हुन् ?,’ उनको प्रश्न छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


राजनीतिक हैसियत अनुसार ‘डिपार्चर’ भुलेको बजेट
अर्थतन्त्र, अर्थनीति, छुटाउनुभयो कि?, डिपार्चर, फिचर (Home Main), बजेट, बिजनेस विशेष, राजनीतिक हैसियत, विजनेश होम, विजनेश-फिचर, विशेष

राजनीतिक हैसियत अनुसार ‘डिपार्चर’ भुलेको बजेट



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेका छन् ।
  • बजेट मार्फत आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन र सिप प्रवर्द्धनसहित ५ वटा नयाँ शुल्क थप गरिएको छ ।

१५ जेठ, काठमाडौं । इतिहासकै सबैभन्दा बलियो सरकार बनेपछि अर्थतन्त्रमा ठूलो ‘डिपार्चर’ हुने अपेक्षा धेरैको थियो । तर, तपाईंले सडक वा यातायातमा कुनै रूपान्तरणकारी परियोजना देख्नुभयो ? अहँ, देख्नुभएन । बरु गत वर्षभन्दा बजेट नै घट्यो । जलविद्युत् वा सिँचाइमा त्यस्तो कुनै ठूलो परियोजना देख्नुभयो ? त्यो पनि देख्नुएन ।

शिक्षाले देशको भविष्य निर्माण गर्छ । शिक्षामा त्यस्तो रूपान्तरणकारी कुनै योजना आयो ? आएन । शिक्षामा बजेटको अनुपात घट्यो । शिक्षामा २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने मान्यता छ । तर, बजेट जम्मा १० प्रतिशत मात्रै विनियोजन भएको छ ।

सरकारले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने भनेको छ । अर्थात्, हरेक वर्ष ३ लाख रोजगारी । रोजगारी सिर्जना हुन ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुनुपर्छ । तर, वैदेशिक लगानी ल्याउनका लागि कुनै आकर्षक योजना सुन्नुभयो ? त्यो पनि सुन्नुभएन ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफूले रूपान्तरणकारी बजेट ल्याउने भनेर पटक–पटक भन्ने गर्थे । जेनजी आन्दोलनको बलमा भएको चुनावले लगगभ प्रचण्ड बहुमत दिएको यो सरकारलाई साँच्चै डिपार्चर गर्ने सुविधा पनि थियो । तर, अर्थमन्त्री वाग्लेले डिपार्चरको त्यो अवसर गुमाएका छन् ।

अर्थमन्त्री वाग्लेले यो बजेटमा परिवर्तन सुरुदेखि नै गरेका छन् । त्यो हो– बजेट लेखनको परम्परागत शैली छाडेर नयाँ शैली अपनाउनु । उद्यम–व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्र गतिशील बनाउन भन्दै उनले करका दरमा बृहत पुनरावलोकन गरेको घोषणा गरेका छन् ।

उनले व्यक्तिगत आयकर छुटको सीमा १० पुर्‍याउने तथा अधिकतम दर ३९ बाट २९ प्रतिशतमा झार्ने घोषणा गरेका छन् । २ सय ७३ प्रकारका कच्चापदार्थको भन्सार घटाएको, ११ तहको भन्सार सात तहमा ल्याएको, ३ सय ६० वस्तुमा अन्त:शुल्क खारेज गरेको जस्ता आकर्षक विषय वक्तव्यमा उल्लेख छ ।

तर, करसम्बन्धी कानुनी व्यवस्था गर्ने आर्थिक विधेयक हेर्‍यो भने त्यहाँ कर सुधार होइन, प्रतिगामी कर नीति लागु गरिएको छ ।

नेपालले २०५४ सालमा अनेक नाममा रंगीचंगी कर खारेज गरेर एकल बिक्री करका रूपमा भ्याट सुरु गरेको थियो । तर, यो बजेटले मिठा नाम राखेर फेरि नयाँ पाँच रंगीन कर थपेको छ ।

ती हुन्– आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन शुल्क, सिप प्रवर्द्धन शुल्क, स्वच्छ पूर्वाधार शुल्क, शिक्षा समता शुल्क र स्वास्थ्य प्रवर्द्धन शुल्क ।

२ सय ६० वस्तुमा अन्त:शुल्क खारेज गरेको घोषणा गर्ने अनि अन्त:शुल्क जस्तै नयाँ पाँच कर नै प्रतिपादन गर्ने अचम्मको सुधार  वाग्लेले गरेका छन् ।

एकातिर बजेट वक्तव्यमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दोहोरो दर लगाउने बारे अध्ययन गर्ने भन्ने घोषणा गर्ने, अर्कातिर आर्थिक विधेयकबाट बिजुली र राइड सेयरिङमा दोहोरो भ्याट लागु नै गरेर सरासर झुट कुरा गरेका छन् ।

‘बजेटले मध्यम वर्गलाई राहत दिने भन्यो तर प्रत्यक्ष करमा छुट दिएर अप्रत्यक्ष कर भने अत्यधिक वृद्धि गरेको छ,’ एक करविज्ञले अनलाइनखबरसँग भने, ‘यसरी प्रत्यक्ष कर घटाएर अप्रत्यक्ष कर बढाउनु भनेको निम्न वर्गका जनताको छातीमा लात हान्ने कदम हो ।’

यसरी प्रत्यक्षबाट अप्रत्यक्ष करतर्फ जाँदा त्यसले करदातालाई न्याय नगर्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले ६० वटा सरकारी संरचना खारेज, हस्तान्तरण वा पुनर्संरचना गरेर सरकारलाई चुस्त बनाउने घोषणा गरेका छन् । यो सकारात्म कुरा हो । तर, यसबाट बचाएको पैसा उनले बढाएको बजेटको आकार धान्न पर्याप्त हुने खालको देखिँदैन ।

लगानी प्रवर्द्धन गर्न भनेर घोषणा गरिएका कार्यक्रम कुनै पनि नयाँ छैनन् । त्यसमा विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था वा बहुराष्ट्रिय कम्पनीको शाखा वा आवास प्रयोजनका लागि कुनै अपार्टमेन्टको २५ प्रतिशतसम्म लिजमा लिन पाइने व्यवस्था चाहिँ नयाँ हो ।

दोस्रो चरणको आर्थिक सुधारको एजेन्डा बोकेका अर्थमन्त्री वाग्ले राष्ट्रिय वाणिज्य बैंकबाट सरकारी लगानी विनिवेशको कुरा गर्दैनन्, बरु सरकारले नै लगानी थप गर्ने कुरा गर्छन् । अर्कातिर, नेपाल आवास विकास कम्पनी मार्फत घरजग्गा विकासको काम पनि सरकारले नै गर्ने कुरा गर्छन् ।

नेपाल टेलिकममा ६६ प्रतिशत मात्रै सरकारी स्वामित्व कायम राखी बाँकी सेयर बेच्दाको आम्दानी नेपाललाई टेकहब बनाउन लगानी गर्ने आकर्षक योजना वाग्लेले ल्याएका छन् । तर, टेलिकम कम्पनी आफैं अस्तित्वको संकटमा रहेकाले यो योजना आफैंमा आकर्षक चाहिँ होइन ।

वर्षमान पुनले गण्डकी त्रिभुज भनेजस्तै  वाग्लेले मध्य–मधेस चतुर्भुज, गण्डकी चतुर्भुज र कर्णाली चतुर्भुज जस्ता योजना घोषणा गरेका छन् । सुन्दा आकर्षक लाग्ने यी योजनाको चारै दिशामध्ये कतैबाट पनि अध्ययन विश्लेषण, डीपीआर, ईआईए भएको छैन । विगतमा गण्डकी त्रिभुज जसरी खरानी जसरी हरायो, यी चतुर्भुज योजना पनि त्यसैगरी हराउने जोखिम उत्तिकै छ ।

लगानी आकर्षण गर्न लगानी एक्स्प्रेस नामको घोषणा गरिएको छ । तर, नेपाललाई लगानीकर्ताको सुरक्षा र लगानीको प्रतिफलका हिसाबले कसरी सुरक्षित मुलुक बनाउन सकिन्छ भन्नेमा भने उनले कुनै योजना घोषणा गरेका छैनन् ।

खासगरी आईटी, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम आकर्षक देखिन्छन् । ठूलो आकारको डेटा सेन्टर बनाउनेदेखि नेपालका आइटी उत्पादन विदेश निर्यात गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएका छन् । तर, त्यसका लागि आवश्यक जनशक्ति उत्पादनका लागि शिक्षामा लगानी गर्ने कुनै योजना छैन ।

भौतिक पूर्वाधारका क्षेत्रमा चाहे सडक होस्, चाहे पुल, चाहे विद्युत् होस्, चाहे सिँचाइ कुनै पनि क्षेत्रमा न बजेट विनियोजन बढाइएको छ, न कुनै रूपान्तरणकारी योजना नै घोषणा गरिएको छ ।

सबै पुराना आयोजनालाई निरन्तरता दिइएको छ । कतिसम्म भने विगतकै सरकारहरूले घोषणा गरेका काठमाडौं जस्ता ठूला सहरमा मेट्रो रेल चलाउनका लागि अध्ययन गर्नेसम्म बजेटले भनेको छैन ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, कषि, विद्युत्, सिँचाइ लगायत सबैजसो क्षेत्रमा बजेट घटाइएको छ । समग्रमा बजेटको आकार बढाएर २१ खर्ब २४ अर्ब पुर्‍याइएको छ । तर, त्यसरी बढेको रकम विकास निर्माणका लागि होइन, प्रशासनिक खर्च र ऋणको सावाँब्याज भुक्तानीका लागि हो ।

चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ६० अर्ब बजेटको आकार बढेको छ । तर, पूँजीगत बजेट जम्मा २४ अर्ब मात्रै बढेको छ । बाँकी चालु र वित्तीय व्यवस्था शीर्षकमा बढेको छ ।

सरकारकै स्रोत समितिले प्रदान गरेको बजेट सीमाभन्दा करिब अढाइ खर्ब ठूलो बजेट कार्यान्वयनका लागि अनुमान गरेको स्रोत पनि भरपर्दो छैन । हुन त सरकारले गत आवको अनुमानको तुलनामा राजस्वको लक्ष्य घटाएर १४ खर्ब ५ अर्बको मात्रै लक्ष्य राखेको छ ।

तर, विगत सात–आठ वर्षको प्रवृत्ति हेर्दा यो लक्ष्य पनि हासिल हुन सक्ने देखिँदैन । ‘सरकारले आयकरमा छुट दिने, अन्त:शुल्क लाग्ने वस्तुको सूची घटाउने लगायत कुरा गरेको छ तर राजस्व बढाउने कुनै उपाय लगाएको छैन, यस्तो अवस्थामा राजस्व बढ्दैन,’ एक चार्टर्ड एकाउन्टेन्टले भने ।

अर्कातिर, विदेशी अनुदान र ऋण पनि अनुमान अनुसार उठ्ने गरेको छैन । वैदेशिक ऋण नै लक्ष्यको करिब ५२ प्रतिशत मात्रै उठ्ने गरेको प्रवृत्ति छ ।

यस्तो अवस्थामा आन्तरिक ऋणबाहेक स्रोत भरपर्दा देखिँदैनन् । ‘सरकारले व्यवहारवादी भएर बजेट निर्माण गर्नुपर्छ भनेर १८ खर्ब ९० अर्बको सीमा निर्धारण गरेका थियौं,’ योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ भन्छन्, ‘चुनावपछि नयाँ जनादेशका साथ आएको सरकारले त्यसभन्दा ठूलो बजेट ल्याएको छ, जनताको अपेक्षा पूरा गर्न उहाँहरूले त्यसो गर्नुभएको होला तर एक वर्षपछि समीक्षा गर्दा अहिलेकै जस्तो नियति नदोहोरियोस् भन्न चाहन्छु ।’

अहिले वित्तीय क्षेत्रमा ठूलो मात्रामा तरलता थुप्रिएको हुँदा सरकारले ऋण उठाउँदैमा त्यसले निजी क्षेत्रलाई ठूलो असर भने परिनहाल्ने उनको भनाइ छ । यद्यपि, सरकारको ठूलो बजेट कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उनी बताउँछन् ।

अर्कातिर, सरकारले अत्यधिक ऋण उठाएर चालु खर्च गर्दा त्यसले अर्थतन्त्रलाई नै अप्ठ्यारोमा पार्न सक्ने पनि विश्लेषक बताउँछन् ।

सरकारले कर्मचारीको तलब बढाउँदा पनि बजेटको आकार बढेको बुझ्न सकिन्छ । ‘चार वर्षदेखि नबढेको सरकारी कर्मचारीको तलब बढाउनुलाई नकारात्मक भन्न मिलेन, यद्यपि एकातिर सरकारी कर्मचारीको तलब बढाउने, अर्कातिर व्यक्तिगत आयकरको सीमामा व्यापक फेरबदल गर्ने गर्दा मानिसको हातमा धेरै पैसा पुग्ने देखिन्छ,’ एक आर्थिक विश्लेषकले भने, ‘यसले मूल्यवृद्धि त बढाउने छ नै, आफ्नो उत्पादन नभएका कारण आयात पनि बढाउँछ ।’

सरकारले आगामी आव ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । त्यो हासिल हुनका लागि पनि लगानी विस्तार हुन आवश्यक छ । एकातिर सरकारको खर्च गर्न सक्ने क्षमता कमजोर छ, अर्कातिर निजी लगानी पनि प्रोत्साहित गरिएको छैन । त्यसो हुँदा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने सम्भावना पनि कम छ ।

२३ र २४ भदौको आन्दोलन र २१ फागुनको निर्वाचनले दिएको सबैभन्दा बलियो सन्देश भनेको विकास र सुशासन हो । त्यो आन्दोलनको भावनालाई नै चाहिँ यो बजेटले समेट्यो कि समेटेन त ?

युवा अर्थशास्त्री ऊर्जा सिंह थापा भन्छिन्, ‘युवाले माग गरेको अनुरूप सुशासनको एजेन्डालाई बजेटले समेटेको छ, सुशासन कायम गर्ने दिशामा बजेटका प्रतिबद्धता सकारात्मक छन्,’ उनी भन्छिन्, ‘दोस्रो, यहाँ नै काम पाउने र जीवन निर्वाह हुने तलब पनि पाउने वातावरण युवाले खोजेका हुन्, लगानी वृद्धि तथा स्टार्टअप प्रवर्द्धन गर्ने बजेटमा रहेका कार्यक्रमले रोजगारी सिर्जनामा योगदान गर्न सक्छ ।’

अर्थमन्त्री वाग्लेले भने जस्तै यो बजेट रूपान्तरणकारी हो कि होइन त ? ‘यो बजेटले पुरानै कार्यक्रम दोहोर्‍याएको छ, केही नयाँ कार्यक्रम पनि छन्, यही बजेट पनि कार्यान्वयनमा गयो भने रूपान्तरण हुन्छ,’ अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठ भन्छन्, ‘तर, रूपान्तरण भयो कि भनेर अर्को वर्षको जेठ १५ गते भन्न सकिन्छ ।’

सीए सुदर्शनराज पाण्डे पनि यो बजेटमा आएका कार्यक्रम राम्रै भए रूपान्तरणकारी हुने–नहुनेबारे कार्यान्वयन हेर्नुपर्ने बताउँछन् । ‘यो रूपान्तरणकारी हुने–नहुने भन्ने विषय पुस ३० मै देख्न पाउँछौं,’ पाण्डे भन्छन् ।

युवा अर्थशास्त्री थापा भने यो बजेट कार्यान्वयन गर्न सकियो भने दीर्घकालीन रूपमा यो बजेटले योगदान गर्ने बताउँछिन् ।




लेखक

जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


स्रोत दबाबले विकास बजेट स्थिर, साधारण खर्च र ऋण भुक्तानी चाप
अर्थनीति, ऋण भुक्तानी, फिचर (Home Main), बजेट, बिजनेस विशेष, विकास बजेट, विजनेश होम, विजनेश-फिचर, विशेष, साधारण खर्च, स्रोत दबाब

स्रोत दबाबले विकास बजेट स्थिर, साधारण खर्च र ऋण भुक्तानी चाप



News Summary

Generated by OK AI. Editorially reviewed.

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरे ।
  • सरकारले आगामी आर्थिक वर्षको कुल बजेटमध्ये पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
  • बजेटमा प्रशासनिक खर्च कटौतीका लागि ३१ वटा बोझिला सरकारी निकाय खारेज गर्ने घोषणा गरिएको छ ।

१५ जेठ, काठमाडौं । कुल बजेटमा पूँजीगत खर्चको हिस्सा घटाउँदै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

सरकारले चालु आव २०८२/८३ को संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशतले आकार बढाएर बजेट ल्याएको छ । तर, आकार त्यसरी तन्काउँदा पनि पूँजीगत बजेटको हिस्सा भने बढ्न सकेन ।

आगामी आव पूँजीगत खर्चका लागि कुल बजेटको २०.३ प्रतिशत अर्थात् ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आवको बजेटमा पूँजीगत बजेटको हिस्सा २०.८ प्रतिशत थियो । सरकारले बजेटमा आकर्षक सुधारका कार्यक्रम समेटेको छ । तर, त्यसले पनि बजेटको संरचनागत समस्या भने यस पटक पनि सुधार नहुने स्पष्ट देखिएको छ ।

किनकि, सरकारले आफ्नो कुल स्रोतको ७९.७ प्रतिशत बजेट साधारण प्रकृतिको खर्च र ऋण भुक्तानीमा खर्च गनुपर्ने भएको छ । सोहीकारण विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटको आकारलाई लिएर विज्ञ र जानकारहरू सन्तुष्ट छैनन् ।

अर्थविद् प्रा. डा. रेशम थापा ठूलो मात्रामा आन्तरिक ऋण लिएर बजेटको आकार बढाउने प्रवृत्ति दीर्घकालीन रूपमा सही नहुने टिप्पणी गर्छन् ।

विज्ञहरूका अनुसार राज्यको खर्च सामान्यतया अनुत्पादक हुन्छ । त्यसमाथि निजी क्षेत्रले परिचालन गर्ने रकमलाई आन्तरिक ऋणका रूपमा सरकारले खिच्दा त्यसले अर्थतन्त्रलाई फाइदा भने गर्दैन ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष १२ खर्ब ७० अर्ब रुपैयाँ बराबर चालु खर्च हुने अनुमान गरेका छन् । जुन चालु आवको तुलनामा ९० अर्ब धेरै हो । यस वर्ष कुल बजेटको ५९.८ प्रतिशत बजेट सरकारले चालु प्रकृतिको बजेटमा विनियोजन गरेको छ ।

यस वर्ष सरकारले कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । केही सामाजिक भत्ता दोब्बर गरेको सरकारले सामाजिक सुरक्षाको बढ्दो खर्च कटौतीमा भने कैँची चलाउने आँट गरेन ।

पूर्वअर्थमन्त्री डा. प्रकाशरण महत राजस्व लक्ष्य र वैदेशिक ऋण प्राप्तिको लक्ष्य व्यावहारिक नभएको बताउँछन् । कर्मचारीको तलब वृद्धि र क्षेत्रगत सुधारका प्रयास सकारात्मक भए पनि खर्च गर्ने क्षमता र स्रोत व्यवस्थापनमा ठूलो चुनौती रहेको उनको प्रतिक्रिया छ ।

यस पटक सरकारले ६ खर्बमाथिको घाटा बजेट ल्याएको छ । आकर्षक कार्यक्रम र नाराले त्यस्तो चुनौती छायामा पारे पनि कार्यान्वयनमा समस्या देखिने उनको भनाइ छ । उनी भन्छन्, ‘राजस्व जुटाउन पनि गाह्रो हुन्छ र खर्च गर्ने क्षमता पनि जतिसुकै हामी सुधार गर्छौं, अब हामी दुई तिहाइको सरकार हो, हामी सक्छौं भने पनि त्यो सम्भव छैन ।’

सरकारले आगामी आव २१ खर्ब २४ अर्बको बजेटका लागि राजस्वबाट १४ खर्ब ५ अर्बमात्र स्रोत जुट्ने अनुमान गरेको छ । वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड अनुमान गरिएको छ । चालु आव सरकारले ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान अनुमान गरेको थियो ।

सोही अनुमानलाई अर्थमन्त्री स्वयंले असम्भव भन्दै आलोचना गरेका थिए । आगामी वर्ष सरकारले आन्तरिक ऋण ४ खर्ब १० अर्ब र वाह्य ऋण २ खर्ब ४७ अर्ब परिचालन लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आव २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबर सीमा तोकेको थियो । अर्थविद् तथा राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ बजेट यथार्थ बनाउनुपर्छ र कार्यान्वयनयोग्य बनाउनुपर्छ भन्ने मान्यता सहित सीमा दिइएको बताउँछन् ।

तर नयाँ सरकार, नयाँ म्यान्डेट र नयाँ वाचापत्र सहित आएको सरकारले आकार बढाएर ल्याएको उनी बताउँछन् । यो बजेट खर्च गर्न सक्ने हो भने असम्भव भने नहुने उनको विश्लेषण छ ।

उनी भन्छन्, ‘हिजो जस्तै बजेट ल्याउने बेला विस्तारकारी ल्याउने र कार्यान्वयन गर्न नसकेर मध्यावधि मूल्यांकन गर्दा १८ खर्बमै झार्ने स्थिति नआओस ।’

सुधार प्रयासले आशावादी बजेट

सरकारले यस पटक सुधारलाई प्राथमिकता दिएको छ । पूर्वअर्थमन्त्री रामेश्वर खनाल बजेटमा टिप्पणी गर्दै एक वाक्यमा लेख्छन्, ‘बजेटमा सुधारका कार्यक्रम मुख्य विशेषताका रूपमा देखिएका छन् ।’

उनले भने जस्तै अर्थमन्त्री वाग्लेले यसपालि सुधारका योजनामा बढी मिहिनेत गरेका छन् । मध्यम वर्ग विस्तार गर्ने वाचा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आयकरको तल्लो सीमा हटाएर बहुसंख्यक व्यक्तिलाई लाभ दिने प्रयास गरेको छ । कर्मचारीको पारिश्रमिक वृद्धिलाई समेत विज्ञहरू सकारात्मक कदम मान्छन् ।

सरकारले औद्योगिक कच्चापदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह हुने गरी भन्सार दर घटाएको छ । यसले २ सय ७३ वस्तुको भन्सार दर घट्ने छ । ३ सय ६० वस्तुमा लाग्ने गरेको अन्त:शुल्क खारेज गरिएको छ ।

सरकारले भन्सार बिन्दुमा संकलन हुने विभिन्न नामका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छ । पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको छ । मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने घोषणा सरकारले गरेको छ ।

कर परिपालनलाई दण्ड नभई विकासको सहयात्री बनाउने घोषणा गर्दै अर्थमन्त्रीले कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरुपण गरी व्यावसायिक वातावरण बनाउने बताएका छन् ।

बोझिलो संगठन संरचना खारेज गरी चुस्त बनाउने घोषणा गरिएको छ । यसबीच ३१ निकाय खारेज गरिने भएको छ । ६ मर्जर, ६ हस्तान्तरण र १८ निकायको पुनर्संरचना गरिने घोषणा बजेटमा गरिएको छ ।

सरकारले लागत न्यूनीकरण र दक्षता अभिवृद्धिमा संस्थागत सुधार गर्ने भनेको छ । लगानी प्रवर्द्धन, आर्थिक सुधार, सहज सेवा प्रवाहको समुचित नीतिगत कानुनी प्रबन्ध गर्ने भन्दै अर्थमन्त्रीले विभिन्न कानुन सुधारको घोषणा गरेका छन् । कार्यगत सुधारमा सुधार गरी पूँजीगत खर्चको गति र लय फेर्ने उनको प्रतिबद्धता छ ।

उद्यमी अम्बिकाप्रसाद पौडेल विनियोजन भएको पूँजीगत खर्च पूरै खर्च हुने व्यवस्थामा अर्थमन्त्रीले पहल गर्नुपर्ने बताउँछन् । विगतमा समेत बजेट सुनेर धेरै पटक खुसी भएको प्रसङ्ग उल्लेख गर्दै पौडेलले लेखेका छन्, ‘अहिले त्योभन्दा बढी मनैबाट खुसी छु तर, मात्र एउटा चाहना अर्थमन्त्रीज्यूले पूँजीगत खर्च पूरै हुने व्यवस्थामा पहल गरिदिनुहोला, कर कानुन कार्यान्वयन गर्दा कँहीँ कतै दोहोरो अर्थ लाग्ने अनि दुबिधा भएका सबै विषयको निराकरण गरी विगतमा अर्थको कुल बेरुजुमा ७० प्रतिशत घटाएर हजुरको पालामा ७ प्रतिशत कायम गर्नुहोला ।’

पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले ६ खर्ब ५७ अर्ब ऋण थपेर ल्याइएको बजेटमा ४ खर्ब ३१ अर्बमात्र पूँजीगत खर्च छुट्याइएको भन्दै प्रतिक्रिया दिएका छन् ।

सार्वजनिक ऋण २२.४१ प्रतिशतले बढाइएको भन्दै उनी उत्पादन, रोजगारी र व्यापार घाटा घटाउने विषयमा बजेट असाध्यै कमजोर रहेको बताउँछन् ।

२२ प्रतिशत ठूलो आकारको बजेट सुन्नमा महत्त्वाकांक्षी रहेको र कार्यान्वयन क्षमताको धरातल हेर्दा धेरै प्रश्न उठ्ने उनको प्रतिक्रिया छ ।




लेखक

अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


Scroll to Top