प्रतिनिधिसभामा विपक्षीहरू संख्यात्मक रूपमा निकै कमजोर अवस्थामा छन् । सत्तापक्षको अत्यधिक बहुमतको मनोवैज्ञानिक दबाबका कारण संसद्भित्र झिनो रूपमा उठ्ने विपक्षी आवाज झन् दबिने अवस्था आउन सक्छ । जुन आवाज दबिन नदिन अबको सभामुखले ख्याल गर्नुपर्ने छ ।
रास्वपाका उपसभापति डीपी अर्याल व्यवस्थापिकाको प्रमुख पदमा पुग्ने पक्का भएको छ । गृहमन्त्रीका आकांक्षी रहेका अर्याल आइतबारदेखि प्रतिनिधिसभाको सभामुख बन्नेछन् ।
रास्वपाले सभामुख पदमा पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई अघि सारेको छ । रास्वपा प्रतिनिधि सभामा १८२ सिटसहित ठूलो दल रहेकाले अर्याल सभामुख हुने निश्चित भएको हो ।