पुरानो पुस्ताको दायित्व जेनजीको विद्रोहलाई ‘जराविहीनता’को प्रमाण भनेर व्याख्या गर्नु होइन। आफ्नो पालामा काटिएको जरालाई नीति, संस्था र इमानदारीले फेरि बनाउन सहयोग गर्नु हो।
प्रविधि, बसाइँसराइ र भूमण्डलीकरणले हाम्रो समाजलाई यति तीव्र गतिमा बदल्दै छ कि अब एउटै कोखका दाजुभाइ पनि फरक पुस्ताका हुन थालेका छन्। गाउँहरू रित्तिएका छन् भने सहरमुखी जेनजी जराविहीन अवस्थामा पुगेका छन्। सामाजिक सञ्जालले उनीहरूलाई जोड्ने मात्र होइन, इको-चेम्बरमा थुनेर उग्रसमेत बनाइरहेको छ।
जेनजी वा कुनै पनि नयाँ पुस्ता केवल आमाको गर्भबाट जन्मिएका जैविक उपज होइनन्, उनीहरू तीव्र सामाजिक र ऐतिहासिक परिवर्तनका परिणाम हुन्। इतिहासको यही तीव्र गतिलाई बुझ्न नसक्दा पुराना, सिद्धान्तनिष्ठ र कार्यकर्तामा आधारित राजनीतिक दलहरूको पतन हुँदै छ।