काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

एस्प्रेसो

Auto Added by WPeMatico

balen shah 2
एस्प्रेसो, प्रधानमन्त्री, बालेन शाह, विशेष

प्रधानमन्त्रीजी सीमा नमिचाैं, चाहे त्यो संविधानकै किन नहोस्



प्रधानमन्त्री बालेन शाहले आफ्नो शासनशैली कस्तो हुनेछ भन्नेबारे रास्वपा महाधिवेशनमा दिएका टिप्पणीले सामुन्नेमा रहेका महाधिवेशन प्रतिनिधि र समर्थकलाई पक्कै खुसी बनाएको हुनुपर्छ । संविधान र कानुनअनुसार नै देश चल्नुपर्छ भन्ने उनको भनाइ सही पनि लाग्छ । यसमा ध्यान दिनुपर्ने र गम्भीर हुनुपर्ने विषय चाहिँ अर्कै छ, जसबारे रास्वपाले यो पहिलो महाधिवेशनबाट पूरक व्याख्या नै गरिदिओस् भन्ने अपेक्षा छ ।

त्यो के हो भने बालेनले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफू अर्थात् प्रधानमन्त्री कार्यालयबीचको सम्बन्धबारे चितवनमा आइतबार थोरै बोलेका थिए । उनले आफ्नो कार्यालयमा बोलाएर अख्तियारका आयुक्तहरूलाई पाँच घण्टा त के पाँच वर्षसमेत ‘सल्लाह गरेर राख्न सकिने’ बताए । बालेनको टिमले कुन शैलीमा सल्लाह गरेको थियो भन्नेबारे चाहिँ अलिक चिन्ता गर्नुपर्ने ठाउँहरू छन् ।

हुन सक्छ, बालेन र अख्तियार प्रमुख प्रेम राईका बीच केही वर्षयता नै फाटो थियो, तर हामी त्यसलाई उनीहरू दुईबीचको सुमधुर सम्बन्ध वा टकरावका आयाममा सोच्न सक्दैनौं । उनीहरू व्यक्ति होइनन्, संस्था प्रमुखहरू हुन् । उनीहरू जसरी आए त्यसरी एक दिन जानेछन्, तर संस्था रहिरहन्छ । भएका संस्था नियमानुसार नचलाएर माओवादी शैलीमा ‘जनअदालत’ ब्युँतेला भन्ने कल्पना गर्न सकिँदैन ।

यसमा विद्यमान संवैधानिक प्रबन्धहरू हेरौं । अख्तियारमा नालायकहरू बसेका रहेछन् भने तिनलाई महाभियोग लगाएर फ्याँक्न सकिन्छ । त्यसका लागि उनीहरूको अयोग्यता, आचरण, कर्तव्य पालना गर्ने असमर्थता, पदको गरिमाभन्दा बाहिर गएर गरेका कार्यहरूलाई पुष्टि हुने आधारसहित पुष्टि गर्न सकिन्छ ।

विगतमा लोकमान सिंह कार्कीलाई अख्तियारबाट हटाउने बेला भएका अनुभव र अभ्यास हेर्‍यो भने धेरै कुरा स्पष्ट भइहाल्छ । प्रमुख आयुक्त मात्रै होइन, कुनै पनि आयुक्त राख्ने कि फ्याँक्ने भन्ने निर्णय शक्तिशाली संघीय संसद्ले गर्न सक्छ । खेलको विधिवत नियम यही हो ।

होइन, अख्तियारको समग्र कुरा ठिकै छ, केही कार्यशैली मिलेको छैन भने त्यसमा साँचो अर्थमा सल्लाह गर्ने, रिपोर्टिङ आदानप्रदान गर्ने विधिसम्मत प्रचलन पछ्याए पुगिहाल्यो । लोकतन्त्र व्यक्तिको अनुहार होइन, विधि-प्रक्रिया हेरेर चल्छ भन्ने आधारभूत सिद्धान्त प्रधानमन्त्रीजी र उनको ‘देश बनाउने टोली’ ले मान्दिनु पर्‍यो ।

बालेन सधैं प्रधानमन्त्री बन्न आएका होइनन् । भोलि त्यो कुर्सीमा अर्को व्यक्ति आउँछ । उसले चाहेका निर्णयलाई उसका मनसाय हेरेर मान्दिनु पर्ने कि विधि प्रक्रिया हेरेर मान्दिनु पर्ने ?

यहीँनेर संविधानवाद र लोकतन्त्रको कुरा आउँछ, जुन सत्तामा बस्नेहरू हम्मेसी सुन्न चाहँदैनन् । हामीले प्रचण्ड, केपी ओलीलाई उनीहरु अधिक लोकप्रिय हुँदाका दिनहरुमा समेत बेहोरेरै आएको हो । आफ्नो बाटोमा निर्धक्क एक्सप्रेसवेमा झैं गुड्न पाइयोस् भन्ने जसको पनि चाहना हुन्छ । तर डोनाल्ड ट्रम्प जस्ता महाशक्तिमान राष्ट्रपतिले दिएका एक्जिक्युटिभ अर्डरहरूलाई समेत त्यहाँको अदालतले रोकतोक लगाइरहेको हुन्छ । ट्राभल ब्यान, सिमानामा पर्खाल वा आप्रवासीको विषयमा होस् या फेडेरल ग्रान्ट अर्थात् संघीय बजेट अनुदान रोक जस्ता विषयमा उनले अदालतलाई झेलिरहनु पर्ने हुन्छ । ट्रम्प मनमौजी देखिन्छन्, तर स्वेच्छाचारी बन्ने स्वच्छन्दता अमेरिकाको संविधानले दिएको छैन ।

संसार यसैगरी चलिरहेको छ, नेपाल कहाँबाट टापु हुन सक्छ ?

हिजो एमाले नेता प्रदीप ज्ञवालीले चितवनमा आयोजित रास्वपा महाधिवेशनमा पनि यही प्रक्रिया सम्झाउँदै ब्रेक र एक्सिलेरटर मिलाएरै दाब्नुपर्ने उदाहरण दिएका थिए । त्यसमा प्रधानमन्त्रीको जवाफ के थियो, त्यो त तपाईं हामीले सुनिनै हाल्यौं ।

अहिले सबैलाई हतार छ । सबैलाई चाँडो पुग्नु छ । तर चाँडो पुग्नलाई हामी यति धेरै नियम मिचिरहेका छौं कि त्यसैले खासमा हाम्रो समग्र गतिलाई ढिला गरिरहेको छ । हो कि होइन, सम्झौं त ?

प्रधानमन्त्रीले राहदानी प्रकरणमा लिन खोजेको कदम यस्तो होस् कि त्यसले देशमा साँच्चिकै सुशासनको कदम चाल्न सुरु भयो भन्ने आभास मिलोस् । त्यो कदम यस्तो नभइदेओस् कि कुनै देशको कम्पनी र अर्को देशको कम्पनीका प्रतिनिधिहरू नेपथ्यमा बसेर एक अर्काविरुद्ध षड्यन्त्र बुन्छन्, हामी यहाँ सुशासनका नारामा बाँडिन्छौं, भाँडिन्छौं र आम नागरिक भ्रममा परिरहन्छन् ।

हामी प्रेसको तर्फबाट यो प्रष्टै कामना गर्छौं– अब प्रधानमन्त्रीकै जिम्मा हो प्रणाली जोगाउन भूमिका खेल्ने । नियत त अन्तिम शाह राजा ज्ञानेन्द्रको पनि देश बनाउने नै थियो ।

मलाई लाग्दैन कि, विगतका राणा, राजाहरूको चाहना देश बिगार्ने थियो । तर देश बनाउने इतिहासका अनेकौं टोलीहरूले विधि-प्रक्रिया यसरी मिच्दै गए कि त्यसले देश बनेन, बरु थप बिग्रियो । गाडी अगाडि गयो, तर दुर्घटना हुनका लागि ।

तत्कालको तातोमा कोही नतात्तिऔं । इतिहासमा– नेपालको अनि विदेशको इतिहासमा भएका सही र गल्तीहरूबाट सिकौं । नेपालमा मतदाताले दिएको अभूतपूर्व अवसर स्टन्टबाजीका लागि होइन । नागरिकलाई पनि पर्खने धैर्य छैन । तर सरकारले कदम चाल्दा अदालतका काममा, अख्तियारका काममा, अरू संवैधानिक निकायका काममा थप बलियो बन्न उत्प्रेरकको भूमिका खेलेको आभास मिलोस् । उनीहरूको जराखुट्टा काटेको अनुभुति नहोस् ।

आज ध्यानले सोचौं, अख्तियार, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक लेखा समिति लगायत विभिन्न संसदीय समिति, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय अनुसन्धान विभागलगायत नेपाल प्रहरीका अनुसन्धान इकाइहरू, सम्पत्ति शुद्धीकरण विभाग, अनि मुख्यतः न्यायपालिका: यी संस्था त्यत्तिकै विनाउद्देश्य बनाइएका होइनन् । सरकारसँग यी संस्थालाई जीवन्त र चलायमान बनाउने अवसर छ ।

यीमध्ये कतिपय संस्थालाई सरकार आफैंले निर्देशन र नियन्त्रण गर्न सक्छ । तर कतिपय संस्था भने स्वयं सरकारमा बस्नेहरूका कामकारबाही समेतलाई अख्तियार दुरुपयोग नहोस् भन्ने उद्देश्यले बनाइएका हुन् । संविधानले दिएको अधिकारप्रति मात्रै तिनीहरू उत्तरदायी हुन्छन्, सरकारप्रति हुँदैनन् ।

अब के बालेन सरकारले तिनीहरूलाई संविधानको मर्मभन्दा बाहिर गएर आफूप्रति उत्तरदायी बनाउने सोचेको हो ? त्यसो भयो भने त्यो सुशासनको वास्तविक मान्यताभन्दा बाहिर हुनेछ । त्यसले जवाफदेही शासन होइन, निरंकुश शासनको आभास दिलाउने छ ।

अहिले फेसबुकमा ठेकेदारको खुट्टा भाँच वा अख्तियारलाई यसैगरी ठिक लगाऊ भन्ने टाइपका कमेन्टको बाढी हुन सक्छ । हामीले बनाउने यस्ता खाले कन्टेन्टमै उल्टै गाली आउन सक्छ । तर त्यसो भनेर हामीले विधि-प्रक्रिया सम्झाउन बिर्सन हुँदैन । हामीले सम्झाउन बिर्संदै गयौं भने हामीलाई पनि एक दिन समयले सम्झन बिर्संदै जानेछ ।

हेर्नुस् न प्रधानमन्त्रीजी, खासमा मैले यी कुरा भनेर तपाईं र तपाईंको देश बनाउने टोलीलाई सघाइदिन खोजेको । तर एकथरी मान्छेहरू हामीलाई नै दुस्मन जस्तो व्यवहार गर्छन् । तिनलाई कुनै शनिबारका दिन एउटा फेसबुक पोस्ट वा भिडियो पोस्ट गरेर सम्झाउन मिल्दैन ?

तपाईं राजनीतिमा सधैं नरहनु होला, अनि हामी पनि सधैं पत्रकारितामा रहिरहन कहाँ आएको हो र ? तर हामी नरहँदा पनि देश र समाज बस्न लायक ररिरहोस्, हामी मरेर जाउँला, तर संविधान र त्यसले दिएका संस्थाहरू बाँचिरहुन् भनेर यस्सो केही गर्न मिल्दैन ?

बरु खाँचो पर्‍यो भने यस गम्भीर एजेन्डाबारे चाहिँ पाँच घण्टा सल्लाह गरेर बसौंला । आखिर हामी सबै नेपाली नागरिक देशै बनाउने टोली त हौं । हामीले आआफ्नो जिम्मेवारी सहीसलामत पूरा गर्‍यौं भने यो देश साँच्चिकै बन्न सुरु गर्छ । कुनै पनि सीमा नमिचौं, चाहे त्यो संविधानकै किन नहोस् । तपाईले त छिमेकीको सीमा हामीले मिचेको दृष्टान्त दिनुभयो तर पुष्टि गर्न सक्नुभएको छैन । अब हरेक सिमानाहरुको रखवारी गर्न जरुरी भइसकेको छ । संविधान र एेन कानुनको सिमाना झनै मिच्न मिल्दैन ।




लेखक

बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका ‘महाभारा’ र ‘सिमसारा’ उपन्यास तथा ‘७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी’ सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
एस्प्रेसो, प्रचण्ड, राष्ट्रिय समाचार, संसद

प्रचण्डले म पुरानो होइन भने, नयाँसँग चित्त दुखाए

आज चाहिँ प्रचण्डले संसद्‌मा ती सीमान्त वर्ग, सुकुमवासी, मधेशी र दलितको धुमधाम सम्झना गरे जसलाई बीचका वर्षहरूमा उनी स्वयंले उपेक्षा गरेका थिए । उनले नेपाल-भारत सीमा क्षेत्रमा प्रहरी प्रशासनको सास्ती भोगिरहेका नागरिकको अनुहार सम्झँदै सरकारलाई प्रश्न गरे, ‘गरिब र निमुखालाई सास्ती दिएर यो सरकारले राजस्व बढाउन सक्छ ?’
unnamed 1
एस्प्रेसो, राष्ट्रिय समाचार, सिफारिस, हर्क साम्पाङ

हर्क साम्पाङ बोल्दा अरू कहाँ थिए ?

यतिबेला प्रतिपक्षको आवाजलाई बल दिन हर्कले जुन भूमिका खेलिरहेका छन्, त्यही भूमिका कांग्रेस, एमाले, नेकपा आदिले पनि खेलुन्। फेसबुकमा छवि प्रदर्शन गर्ने मात्रै होइन, नागरिकका वास्तविक समस्याउपर छलफल शुरु होस्।
unnamed 1
एस्प्रेसो, चौथो अंग, पत्रकार, राष्ट्रिय समाचार

हामी चौथो अंग होइनौं

मनोहरा सुकुमवासी बस्तीमा कुटाई खाएका साथी कमल प्रसाईको छोटो फेसबुक स्टाटसले नेपाली प्रेस, नेपाली सत्ता र नेपाली समाजको बारेमा धेरै कुरा भन्छ । हाम्रो समाज किन यसरी अरूको दुःखमा रमाउने, खिल्ली उडाउने बन्यो ? यो कमलको मात्रै होइन, हामी सबै नागरिक क्षेत्रमा काम गर्नेहरूको प्रश्न हो।
unnamed 1
एस्प्रेसो, पीए, राष्ट्रिय समाचार, सांसद, सिफारिस, स्वकीय सचिव

सांसदहरू, स्वकीय सचिव माग्न नधकाउनुहोस्

सांसदहरूलाई निरीह होइन, प्रभावकारी बनाउने हो भने स्वकीय सचिव राख्ने प्रणाली ब्युँताउनुको विकल्प छैन। स्वकीयका नाममा विगतमा देखिएका विकृति निमिट्यान्न पार्न भने भरपर्दो प्रणाली बनाउनुपर्छ।
unnamed 1
एस्प्रेसो, मन्त्रालय, राष्ट्रिय समाचार, सिफारिस

मन्त्रालयमा सघाउन नजानुस्, ढ्यापढ्यापे सांसद नबन्नुस्

रास्वपा सांसदहरू– आफ्नो प्रिय पार्टीले भनिहाल्यो भनेर खुरुक्क मन्त्रालयमा सहजीकरण गर्न जाने होइन। सत्ता पक्षमा भए पनि तपाईंहरूको काम सरकारलाई केही भन्नुपर्ने भए संसदबाटै भन्ने हो।
unnamed 1
एस्प्रेसो, नयाँ सरकार, निर्वाचन, बालेन, राष्ट्रिय समाचार, रास्वपा, वामपन्थी

कमरेडहरू भन्दैछन्– बालेनले के राजनीति जान्या छ !

‘बालेनले के राजनीति जान्या छ’ भन्ने प्रश्न खड्गबहादुर विश्वकर्मा मात्रै होइन, अरू थुप्रै वामपन्थी गरिरहेका छन्। बालेन स्वयंले कति राजनीति बुझ्या छन् या छैनन्, भोलिका दिनमा देखिएला। तर उनीहरूले आजसम्म बुझें भनेको राजनीति चाहिं कस्तो छ त ?
unnamed 1
एस्प्रेसो, बालेन शाह, विशेष

रवि-बालेनको विजय, ओलीको पराजय, गगनको के ?

जेनजी विद्रोहपछि भएको आम चुनाव ०८२ को प्रारम्भिक मतादेशले रास्वपा, कांग्रेस र एमालेका लागि के सन्देश दिएको छ ? एक चिरफारः
unnamed 1
एस्प्रेसो, छुटाउनुभयो कि?, बीबीसी डकुमेन्ट्री, विशेष

बीबीसी डकुमेन्ट्रीले हाम्रा सामु छाडेका प्रश्न

एमसीसी होस् या बीबीसी– आफूलाई पायक पर्दा ठिक, पायक नपर्दा बेठिक भन्न छाडौं । यस्ता घरेलु राजनीतिक समस्या सुल्झाउन सकियो

Scroll to Top