त्यसपछि मलाई झन् औडाहा भयो। यति धेरै मन पराएको मान्छे, नदेखी नदेखी माया बसेको मान्छे जब देख-भेट भयो, जिन्दगीको सुरुवात हुँदै थियो तब बिचमै छुट्टिनु पर्यो। यदि छुटिनु नै थियो त भगवान् किन भेट गरायौ? रातभर भगवानलाई गाली गरिरहेँ।
यसरी जीवनको अनपेक्षित मोडमा अचानक मैले साधनालाई फेरि भेटेँ। अँध्यारोमा मिलिक्क बिजुली चम्किएर एक क्षणको लागि उज्यालो बनाएर फेरि बिलाएजस्तै। करिब पन्ध्र वर्ष जति पछि। सिंगो युग बितिसकेको थियो। मेरो मानसपटलको सन्दुकमा उसका स्मृतिहरूलाई दबाएर ताल्चा लगाएर थुनिदिएको थिएँ। यतिका वर्षपछि त्यो ताल्चा तोडियो।