काभ्रेपलाञ्चोक
+977-9863403002
१९ जेष्ठ २०८३ मंगलवार

बिजनेस प्रमुख

Auto Added by WPeMatico

विषादी जोखिममा उपभोक्ताको भान्सा : २२ हजार नमुना परीक्षण, ११६ पटक अयोग्य तरकारी र फलफूल नष्ट
उपभोक्ता, नमुना परीक्षण, बिजनेस प्रमुख, विजनेश होम, विषादी

विषादी जोखिममा उपभोक्ताको भान्सा : २२ हजार नमुना परीक्षण, ११६ पटक अयोग्य तरकारी र फलफूल नष्ट



News Summary

Generated by OK AI. Editorially reviewed.

  • चालु आर्थिक वर्षको आठ महिनामा २२ हजार ८ सय ६० नमुनामध्ये १ सय १६ अत्यधिक विषादीयुक्त फेला परेका तरकारी र फलफूल नष्ट गरिएका छन् ।
  • आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार परीक्षण गरिएकामध्ये ४६ नमुनालाई तत्काल खान अयोग्य ठहर गर्दै केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षणको प्रक्रियामा लगिएको छ ।
  • गत वर्ष १४ हजार ३ सय ६५ नमुना परीक्षण गरिएकामा यस वर्ष परीक्षणको दायरा बढाएर २२ हजार ८ सय ६० पुर्‍याइएको छ ।

१५ जेठ, काठमाडौं । नेपाली उपभोक्ताको भान्सामा पुग्ने तरकारी र फलफूलमा विषादी अवशेषको जोखिम अझै धेरै चुनौतीपूर्ण देखिएको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्यांक अनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्ममा ठूलो परिमाणमा तरकारी तथा फलफूलका नमुना उपभोगका लागि अयोग्य फेला परेका छन् ।

केन्द्रीय कृषि प्रयोगशाला मातहत देशका विभिन्न १२ वटा संघीय कृषि थोक बजारमा सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइहरूले गरेको नियमित परीक्षण क्रममा चालु आव ८ महिना अवधिमा मात्रै २२ हजार ८ सय ६० वटा ताजा तरकारी तथा फलफूलका नमुनाको सूक्ष्म विश्लेषण गरिएको थियो ।

विशेषगरी मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने ‘कार्बामेट’ र ‘अर्गानोफोस्फेट’ समूहका कीटनाशक विषादीको मात्रा जाँच गर्दा १ सय १६ नमुनामा विषादीको अवशेष अत्यधिक भेटिएकाले ती वस्तुलाई तत्कालै नष्ट गरिएको छ ।

यसबाहेक अन्य ४६ नमुना भने केही दिन क्वारेन्टिनमा राखेरमात्र पुन: परीक्षण गर्ने प्रक्रियामा लगिएको छ, जसको अर्थ ती उत्पादन तत्काल खानयोग्य थिएनन् तर केही दिनको पर्खाइपछि विषादीको असर घट्न सक्ने अवस्थामा थिए ।

विगत वर्षहरूको तुलनामा यस वर्ष विषादी परीक्षणको दायरा उल्लेख्य बढाइएको पाइएको छ । गत आव २०८१/८२ को सोही अवधिमा जम्मा १४ हजार ३ सय ६५ नमुनामात्र परीक्षण गरिएको थियो, जसमा ७२ नमुना उपभोगका दृष्टिले अयोग्य देखिएर नष्ट गरिएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षण गरिएका नमुना संख्यामा झन्डै ८ हजारले वृद्धि हुनुले सरकारले बजार अनुगमनमा सक्रियता बढाएको त देखिन्छ, तर सँगसँगै नष्ट गरिएका नमुना संख्यामा भएको बढोत्तरीले उत्पादक तहमा विषादीको प्रयोग अझै नियन्त्रण बाहिर रहेको देखाउँछ ।

सरकारले देशभरिका मुख्य कृषि बजारहरूमा यस्ता परीक्षण इकाइ सञ्चालन गरेर उपभोक्तालाई सुरक्षित खाद्यवस्तु उपलब्ध गराउने दाबी गरे पनि ग्रामीण क्षेत्रबाट सिधै बजार पुग्ने र परीक्षणको दायरामा नआउने कृषि उपजहरूमा विषादीको जोखिम अझै उच्च रहने विज्ञहरूको चिन्ता छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


संकटमा मधेशको माटो : जैविक गुण सकिंदा ढुंगा जस्तै बन्दैछ खेत
जैविक गुण, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मधेसको माटो, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, स्वास्थ्य अवस्था

संकटमा मधेशको माटो : जैविक गुण सकिंदा ढुंगा जस्तै बन्दैछ खेत



News Summary

Generated by OK AI. Editorially reviewed.

  • केन्द्रीय कृषि प्रयोगशालाको अध्ययन अनुसार मधेश प्रदेशको ५४.७ प्रतिशत माटोमा अम्लीयपना बढेर उत्पादकत्वमा गम्भीर ह्रास आएको छ ।
  • मधेश प्रदेशको माटोमा प्राङ्गारिक पदार्थको मात्रा घटेर १.९४ प्रतिशतमा झरेको छ, जबकि स्वस्थ माटोका लागि ५ प्रतिशत आवश्यक हुन्छ ।
  • माटोको स्वास्थ्य सुधार र अम्लीयपना घटाउन सरकारले मधेसमा ५० प्रतिशत अनुदानमा ढैंचाको बीउ र कृषि चुन वितरण शुरू गरेको छ ।

१३ जेठ, काठमाडौं । नेपालको अन्न भण्डार मानिने मधेश प्रदेशको माटोको स्वास्थ्य अवस्था पछिल्लो समय निकै चुनौतीपूर्ण बन्दै गएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले मधेसका विभिन्न जिल्लामा गरेको स्थलगत अध्ययन र माटो परीक्षण नतिजाले माटोको उत्पादक शक्तिमा गम्भीर ह्रास आएको देखाएको हो ।

प्रयोगशालाका वरिष्ठ माटो विज्ञ नेत्रप्रसाद भट्टका अनुसार मधेस प्रदेशका धनुषा र सिरहा जिल्लाका १० स्थानीय तहका किसानसँग प्रत्यक्ष अन्तर्वार्ता, स्थलगत अवलोकन र माटोको नमुना संकलन गरिएको थियो ।

अध्ययन क्रममा माटोमा कडापन बढ्नुका साथै सुक्खापन, न्यून पानी धारण क्षमता र बालीको जराको वृद्धि विकास ज्यादै न्यून रहेको पाइएको छ ।

भट्टका अनुसार किसानले अनुभव सुनाउँदै पहिलेको तुलनामा धेरै गुणा बढी मल प्रयोग गर्दा पनि बाली उत्पादन झन् घट्दै गएको बताएका छन् ।

किसानहरूमा माटोमा समस्या आएकै कारण उत्पादन घटेको हो भन्ने सामान्य ज्ञान भए पनि के कति कारण यस्तो भइरहेको छ भन्ने प्राविधिक जानकारी भने ज्यादै न्यून रहेको पाइएको छ ।

भट्टका अनुसार मधेसको माटोलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकता छ । रासायनिक मलको मात्रै एकोहोरो प्रयोग र प्राङ्गारिक मल अभावले माटोको संरचना बिग्रँदै गएको अध्ययनको निष्कर्ष छ ।

सरकारको २० वर्षे कृषि विकास रणनीतिले माटोको प्राङ्गारिक पदार्थलाई सन् २०१५ देखि २०३५ सम्म १.९६ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ ।

‘लक्ष्य ठूलो भए पनि त्यसलाई पूरा गर्न आवश्यक कार्यक्रम र कार्यान्वयन पाटो निकै कमजोर देखिएको छ,’ उनले भने ।

हाल नेपालको माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा २.५९ प्रतिशत छ भने तराई क्षेत्रमा यो १.९४ प्रतिशतमात्र छ, जबकि स्वस्थ माटोका लागि ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुनु अनिवार्य मानिन्छ ।

डिजिटल स्वोयल म्यापमा प्रविष्ट गरिएका विवरण उद्धृत गर्दै भट्टले मधेसको ५४.७ प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको बताए ।

त्यसैगरी ५२.२ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून छ भने ५५.७ प्रतिशतमा फस्फोरस, ५८.४ प्रतिशतमा पोटासियम, ८२.७ प्रतिशतमा जिंक र ५८ प्रतिशत माटोमा बोरन तत्त्वको कमी पाइएको छ । यो अवस्था राष्ट्रिय औसतभन्दा धेरै बढी समस्याग्रस्त हो ।

माटो बिग्रनुका मुख्य कारण

वरिष्ठ माटो विज्ञ भट्टले माटोमा समस्या आउनुका पछाडि मुख्य चार कारण औँल्याएका छन् । पहिलो कारण, किसानमा माटो व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञानको कमी हुनु हो । माटो परीक्षण मार्फत समस्या पहिचान गर्ने, बाली अनुसार सन्तुलित रूपमा प्राङ्गारिक र रासायनिक मल प्रयोग गर्ने, खनजोत विधि, बाली चक्रमा कोशेबालीको महत्त्व र हरियो मल प्रयोगजस्ता विषयमा किसान अनभिज्ञ छन् ।

‘रासायनिक मल मात्रै प्रयोग गर्दा माटोको भौतिक, रासायनिक र जैविक सन्तुलन बिग्रन्छ, जसले माटोलाई अम्लीय बनाउने र पानी धारण गर्ने क्षमता घटाउने गर्दछ,’ भट्टले भने ।

दोस्रो कारण, प्राङ्गारिक पदार्थको ज्यादै न्यून उपलब्धता र प्रयोगलाई लिइएको छ । मधेसमा पशुपालक किसान संख्या घट्दै गएकाले गोठेमल अभाव छ भने उपलब्ध गोबरलाई पनि गुइँठा बनाएर जलाउने गरिएको छ ।

बजारमा पाइने प्राङ्गारिक मल महँगो हुनु र बालीका अवशेष खेतमै जलाउने प्रचलनले गर्दा माटोले पोषक तत्त्व पाउन सकेको छैन । किसानले नाइट्रोजनयुक्त मल (युरिया र डीएपी) मात्र बढी प्रयोग गर्दा बिरुवाको वानस्पतिक विकासमात्र हुने तर माटोको स्वास्थ्य र उत्पादनमा गम्भीर समस्या देखिने गरेको उनले बताए ।

यस्तै सिँचाइका लागि स्यालो ट्युबवेल गाडिए पनि विद्युतीकरण अभाव र मर्मत समस्याले गर्दा समयमा सिँचाइ हुन नसक्नु तेस्रो कारण हो । लामो समय माटो सुक्खा रहँदा यसको भौतिक, रासायनिक र जैविक गुणहरूमा प्रत्यक्ष असर पर्ने विज्ञ भट्टको ठम्याइ छ ।

चौथो कारण, हिउँदे बालीपछि जमिन खाली छाड्ने प्रवृत्तिलाई मानिएको छ । हरियो मल (ढैँचा, मुङ, बोडी आदि) लगाएर फूल फुल्ने बेलामा जोतेर माटोमा मिलाउँदा उर्वराशक्ति बढ्ने भए पनि यसबारे किसानहरूमा प्राविधिक जानकारी र बिउ उपलब्धता न्यून छ ।

सिफारिसभन्दा बढी रासायनिक मल, प्राङ्गारिक शून्य

किसानले माटोको स्वास्थ्यभन्दा पनि तत्कालको उत्पादनलाई ध्यान दिएर रासायनिक मलको अत्यधिक प्रयोग गरिरहेको भट्टले बताए ।

‘अध्ययन क्रममा किसानहरूले सिफारिसभन्दा बढी रासायनिक मल प्रयोग गरिरहेको पाइयो,’ उनले भने, ‘प्रतिहेक्टर कम्तीमा १० देखि २० टन प्राङ्गारिक मल हाल्नुपर्नेमा धेरैजसो किसानले विगत २–३ वर्षदेखि गोठेमल वा प्राङ्गारिक मल प्रयोग नै नगरेको देखियो ।’

रासायनिक मलको जथाभाबी प्रयोगले माटो साह्रो हुने, डल्ला पर्ने र माटोमा रहेका लाभदायक सूक्ष्म जीवाणु मर्दै जाने समस्या देखिएको छ ।

‘अनुसन्धानले ५० प्रतिशत रासायनिक र ५० प्रतिशत प्राङ्गारिक मलको सन्तुलन मिलाउँदा माटो राम्रो हुने देखाउँछ,’ उनले भने, ‘तर, यहाँ रासायनिक मलमात्र प्रयोग गर्दा माटोको उत्पादकत्व शक्ति नै ह्रास हुँदै गएको छ ।’

किसानका मुख्य समस्या : मल, सिँचाइ र लागत

किसानले समयमा मल नपाउनुलाई मुख्य समस्याका रूपमा दर्शाएका छन् । मलपछि सिँचाइ समस्या अर्को ठूलो चुनौती रहेको छ । धेरै ठाउँमा बोरिङ भए पनि बिजुलीको लाइन नपुगेको, पोल नगाडिएको र कतिपय मेसिन बिग्रिएका कारण किसान मारमा छन् ।

उत्पादन लागत पनि किसानका लागि टाउको दुखाइको विषय बनेको छ । किसानले जोताइको लागत निकै महँगो भएको गुनासो गरेका छन्, एक घण्टा जोतेको ३ हजार रुपैयाँसम्म तिर्नुपर्ने र एउटा खेत जोत्न ४–५ घण्टा लाग्ने हुँदा खेती गर्नै कठिन भएको उनीहरूको भनाइ छ । साथै, गुणस्तरीय बिउ उपलब्धतामा पनि समस्या देखिएको छ ।

किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाबारे जानकारी भए पनि त्यहाँबाट पाउने सेवा सुविधा पर्याप्त नभएको गुनासो गरेका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका–१ का किसान रामउद्गार महतोको मुख्य पेसा नै कृषि हो । करिब ५ बिघा जमिनमा खेती गर्दै आएका महतोले मुख्यतया आँप, धान र उखु रोप्ने गरेका छन् । उनलाई मल, बिउ र सरकारी प्राविधिक सहयोगको अभावले पिरोल्न छाडेको छैन ।

कुनै समय आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहे पनि अहिले स्यालो ट्युबेल (बोरिङ) का कारण केही सहज भएको महतो बताउँछन् ।

‘हाम्रोमा जहिलेदेखि बोरिङ सिँचाइ भयो नि, त्यसपछि केही सहज भएको छ, केही मात्रामा उत्पादनलाई राहत पनि पुगेको छ,’ उनी भन्छन्, ‘तर, अहिले भएका ६ इन्चका ट्युबेलले मात्र पुग्दैन, सिँचाइको अझै ठूलो व्यवस्था भइदिए राम्रो हुन्थ्यो ।’

मल र बीउ सास्ती

उत्पादन बढे पनि समयमा रासायनिक मल र उन्नत बिउ नपाउँदा किसान समस्यामा छन् । खेती गर्ने बेला मलको हाहाकार हुने गरेको उनी बताउँछन् । ‘मल र बिउ बेलैमा पाइँदैन, रासायनिक मल त प्रयोग गर्छौं तर त्यो पनि समयमा पाउन मुस्किल छ,’ उनले थपे ।

महतोले धान खेतीमा रासायनिक मलमात्र प्रयोग गर्ने गरेका छन् भने गोठेमल वा प्राङ्गारिक मल प्रयोग नगरेको बताए ।

सरकारी निकाय र कृषि ज्ञान केन्द्रले साना किसानलाई बेवास्ता गरेको उनको गुनासो छ । ‘कृषि ज्ञान केन्द्र त जनकपुरमा छ, तर उनीहरूले ठूला–ठूला मान्छेलाई मात्र चिन्छन्, हामीजस्ता साना किसानलाई त चिन्दैनन्,’ उनले भने, ‘हालसम्म ज्ञान केन्द्रबाट अन्य ठाउँका किसानलाई सहयोग भयो होला थाहा भएन, तर बटेश्वरका किसानलाई केही भएको छैन ।’

माटोको गुणस्तर परीक्षणबारे पनि सरकारी पहल शून्य रहेको महतोले बताए । ‘एक पटक माटो चेक गर्न हेटौंडा पुग्नुपर्छ भनेको थियो, त्यो पनि १५ वर्ष पहिलेको कुरा हो,’ उनले भने, ‘त्यसपछि हाम्रो माटो कसैले हेरेको छैन ।’

सरकारले ढैँचा (हरियो मल) जस्ता विकल्प र माटो सुधारका कार्यक्रम ल्याएको बताए पनि आफूहरूले त्यसबारे जानकारी र बिउ नपाएकोे उनको भनाइ छ ।

सुधारका लागि ढैँचा र चुनमा ५० प्रतिशत अनुदान

बटेश्वरका किसान महतोले गुनासो गरिरहँदा कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीपकुमार यादवले भने माटोको अम्लीयपन सुधार्न ‘माटो स्वास्थ्य सुधार’ कार्यक्रम सुरु गरिएको बताए । यसका लागि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा ढैँचाको बिउ र प्राङ्गारिक मल वितरण गरिरहेको उनले दाबी गरे ।

‘सरकारी फार्ममा १ सय ६० रुपैयाँ पर्ने ढैँचाको बिउ किसानले ८० रुपैयाँमा पाइरहेका छन्,’ उनले भने, ‘२० लाख रुपैयाँको बजेटबाट ५० प्रतिशत अनुदानमा प्राङ्गारिक मल र चुन वितरण गर्ने कार्यक्रम पनि छ ।’

ज्ञान केन्द्रले हाल लक्ष्मिनिया गाउँपालिका लगायत क्षेत्रमा माटो परीक्षण गरिरहेको र किसानलाई रासायनिक मलको विकल्पमा प्राङ्गारिक खेतीतर्फ लाग्न जनचेतना फैलाइरहेको बताएको छ ।

यस्तै मधेस प्रदेशको कृषि विकास निर्देशनालयले पनि माटोमा बढ्दो अम्लीयपन र खस्कँदो उर्वराशक्ति सुधार्न प्रदेश सरकारले विभिन्न सहुलियतपूर्ण कार्यक्रम अघि बढाएको बताएको छ ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले माटोको स्वास्थ्य रक्षा र सिँचाइ विस्तारका लागि ठूलो मात्रामा अनुदानको व्यवस्था भएको बताए ।

सूचना अधिकारी चौधरीले माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउन ८५ प्रतिशत अनुदानमा मल वितरण भइरहेको बताए ।

‘हामीले जिल्ला–जिल्लामा ८५ प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण गरिरहेका छौं,’ उनले भने, ‘माटोको अम्लीयपन घटाउन र पीएच मान सन्तुलनमा ल्याउन कृषि चुन पनि बाँड्ने काम भइरहेको छ ।’

मधेसमा सिँचाइ समस्या समाधान गर्न डिप बोरिङभन्दा स्यालो ट्युबेल बढी सफल देखिएको चौधरीले बताए । डिप बोरिङमा मर्मत सम्भार र विद्युतीकरण समस्या देखिने गरेका कारण सरकारले स्यालो ट्युबेलमा जोड दिएको उनको भनाइ छ ।

‘अहिले मधेस प्रदेशमा ८५ प्रतिशत सरकारी अनुदान र १५ प्रतिशत किसानको लगानीमा स्यालो ट्युबेल जडान गर्ने कार्यक्रम व्यापक रूपमा भइरहेको छ,’ उनले भने, ‘यसले किसानलाई सिँचाइ र उत्पादन बढाउन मद्दत पुर्‍याएको छ ।’

हाल निर्देशनालयले विभिन्न सहकारी र समूहहरूसँग मिलेर माटो परीक्षण र सुधारका काम गरिरहेको उनको भनाइ छ ।

सुधारका लागि गर्नुपर्ने पहल 

माटोको उर्वराशक्ति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहले एकीकृत रूपमा जनचेतनामूलक कार्यक्रम र माटो स्वास्थ्य सुधारका क्रियाकलाप सञ्चालन गर्नुपर्ने वरिष्ठ माटो विज्ञ भट्ट बताउँछन् ।

माटो परीक्षण सेवा किसानको पहुँचसम्म पुर्‍याउन संस्थागत संयन्त्र र प्राविधिक जनशक्ति व्यवस्थापन अपरिहार्य रहेको उनको भनाइ छ ।

‘सुधारका लागि प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोग, बाली अवशेष नजलाउने विधि, जैविक मल, गँड्यौला मल, बायोचार, कम्पोस्ट मल प्रवर्द्धन र हरियो मलको बिउ उत्पादन तथा वितरणमा सहयोग गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘साथै, सिँचाइका लागि ट्युबेल निर्माण, मर्मत र पूर्णविद्युतीकरण योजनाबद्ध रूपमा गरिनुपर्छ ।’

भट्टका अनुसार माटो विज्ञानको दृष्टिकोणले हेर्दा कुनै एक स्रोत (प्राङ्गारिक वा रासायनिक) बाट मात्र सबै खाद्यतत्त्व पूरा गर्न खोज्नु आर्थिक र वातावरणीय रूपमा उपयुक्त हुँदैन ।

‘माटो परीक्षणका आधारमा सन्तुलित मल प्रयोग नै दिगो विकल्प हो,’ भट्टले भने, ‘देशको खाद्य सुरक्षा र नागरिकको खाद्य सम्प्रभुता सुनिश्चित गर्न अभियानकै रूपमा माटो सुधार कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

उनले माटोको दिगो व्यवस्थापनका लागि बलियो संस्थागत संरचना र योजनाबद्ध कार्यक्रम कार्यान्वयनमा जोड दिए ।




लेखक

ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


सरकारको दाबी : ३० मिनेटमै आवेदन, भोलिपल्ट राहदानी
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, राहदानी, विजनेश होम

सरकारको दाबी : ३० मिनेटमै आवेदन, भोलिपल्ट राहदानी

८ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानीका लागि ३० मिनेटभित्रै आवेदन गर्न सकिने व्यवस्था मिलाएको दाबी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेटभित्र नै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको दाबी गरे । हाल राहदानी सेवा सहज रहेको दाबी गर्दै मन्त्रालयले सेवाग्राहीलाई आफ्नो तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन […]
समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक
गौतमश्री सहकारी, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

८ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । कार्यालयले सो सहकारीका करिब १४० ठूला ऋणीको नाम शुक्रबार सार्वजनिक गरेको हो । समितिले २०८३ साल वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको […]
उद्योग वाणिज्य महासंघमा ६ जना केन्द्रीय सदस्य मनोनीत
उद्योग वाणिज्य महासंघ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

उद्योग वाणिज्य महासंघमा ६ जना केन्द्रीय सदस्य मनोनीत

८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई महिलासहित ६ केन्द्रीय सदस्य मनोनीत गरेका छन् । मनोनीत हुनेमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ, र सहारा जोशी छन् । महासंघको विधान धारा २९ को (च) १० को व्यवस्था अनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना […]
१६ अंक बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

१६ अंक बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

८ जेठ, काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार १६.३८ अंक बढेको छ । अघिल्लो दिन १२ अंक घटेकोमा यस दिनको वृद्धिसँगै नेप्से २७५८ अंकमा कायम भएको छ । जुन अंक दिनभर भएको कारोबारको अधिकतम अंक पनि रह्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार […]
बजेटमा आयकरको तल्लो सीमा नचलाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव
आयकरको तल्लो सीमा, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, युवराज खतिवडा, विजनेश होम

बजेटमा आयकरको तल्लो सीमा नचलाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

७ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा आयकरको तल्लो सीमा नचलाउन सुझाव दिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा पूर्व अर्थमन्त्रीहरूसँग आयोजना गरेको छलफलमा डा. खतिवडाले सो सुझाव दिएका हुन् । पूर्व अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्री बजेटको बाउन्ड्रीमा बस्न खोज्ने तर, राजनीतिले छक्का हान्न […]
आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न पूर्व अर्थमन्त्री खनालको सुझाव
आर्थिक सुधार प्रतिवेदन, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, रामेश्वर खनाल, विजनेश होम

आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न पूर्व अर्थमन्त्री खनालको सुझाव

७ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन् । बिहीबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सन्दर्भमा पूर्वअर्थमन्त्रीहरुसँगको छलफलका क्रममा खनालले आफ्नै नेतृतवमा बनेको सो प्रतिवेदन कार्यान्वयन गर्न सुझाव दिएका हुन् । अन्तरिम सरकारमा उनले अर्थमन्त्री सम्हाल्दै गर्दा प्रतिवेदनमै तोकेर काम […]
विद्युत् नियमन आयोगमा अध्यक्षसहित रिक्त पदाधिकारी नियुक्ति गर्न आवेदन खुला
बिजनेस प्रमुख, मेन स्टोरी, विजनेश होम, विद्युत् नियमन आयोग

विद्युत् नियमन आयोगमा अध्यक्षसहित रिक्त पदाधिकारी नियुक्ति गर्न आवेदन खुला

७ जेठ, काठमाडौं । खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवेदन खुलाएको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको […]
अहिलेको ग्रे लिस्ट अवस्था पछिल्लो ३० वर्षको कुशासन प्रतिफल हो : अर्थमन्त्री
ग्रे लिस्ट, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, स्वर्णिम वाग्ले

अहिलेको ग्रे लिस्ट अवस्था पछिल्लो ३० वर्षको कुशासन प्रतिफल हो : अर्थमन्त्री

६ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अहिलेको ग्रे लिस्ट अवस्था पछिल्लो ३० वर्षको कुशासनले प्रतिफल भएको बताएका छन् । अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा मंगलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आईसीआरजी) को कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री […]
Scroll to Top