छाउगोठमा मृत्यु भएको एक दर्दनाक घटना फेरि सार्वजनिक भएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीलाई महिनावारीका कारण छाउगोठमा बस्न बाध्य पारिएको थियो, जहाँ उनी सर्पको डसाइबाट गम्भीर घाइते भइन् र उपचारको क्रममा ज्यान गुमाइन्।
कमलाले बनाएको पक्की घर, छाउगोठमै अन्तिम सास – छाउपडी कुप्रथाको ज्वलन्त उदाहरण
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमै सर्पदंशबाट मृत्यु भएको दुःखद् घटना सार्वजनिक भएको छ।
भारतमा श्रीमानसँग मजदुरी गरेर फर्किएकी कमलाको घर फर्कने उद्देश्य आफ्ना तीन छोराको उज्यालो भविष्य बनाउने थियो। तर,अन्धविश्वासको जालमा फस्दा, आफ्नै गाउँमा छाउपडी प्रथाले ज्यान लियो।
कमलाका ६, ८ र १२ वर्षका छोराहरू विद्यालय भर्ना भएर अध्ययनरत थिए। उनीहरूले आमा गुमाएका छन्। भारतबाट कमलाले कमाएको पैसाले कृष्णपुरमा एक तले पक्की घर बनाएकी थिइन्।
तर, छाउपडी कुप्रथाका कारण त्यो घरको आँगन नजिकै बनेको छाउगोठमै उनले ज्यान गुमाउनुपर्यो।
सर्पदंश मृत्युमा अस्पतालको लापरवाही: आईसीयू नपाएर गुम्यो जीवन
शुक्रबार साँझ कमलालाई महिनावारी भएको थियो। पानी चुहिने कारणले आफ्नै गोठमा नसुती उनले नातामा जेठाजु पर्ने सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुतिन्।
त्यहीँ सुत्ने क्रममा सर्पले बाँया गालामा डस्यो। उनले पीडा हुँदा छरछिमेकीलाई बोलाइन्।
करीब साढे १२ बजे राति, छिमेकीहरू उनलाई अटोरिक्सामा हालेर सेती प्रादेशिक अस्पताल पुर्याए। तर,, आईसीयू र भेन्टिलेटर नभएको कारण उपचारमा ढिलाइ भयो।
झन्डै डेढ घण्टा पछि मात्र आईसीयूमा राखिए पनि उनलाई बचाउन सकिएन। शनिबार साँझ ८ बजे कमलाको मृत्यु भयो।
छाउपडी कुप्रथा र कानुनी बेवास्ता: छाउगोठमा मृत्यु किन रोकिन्न?
कमला आउजी अछामको मेल्लेख गाउँपालिका–८ की स्थायी बासिन्दा थिइन्।
त्यहाँ अझै पनि “महिनावारी हुँदा घरमा बस्दा देवता रिसाउँछन्” भन्ने अन्धविश्वास कायम छ।यसैले उनी उनी छाउगोठमा बस्न बाध्य भइन्।
यसअघि पनि बैतडीमा १६ वर्षीया अनिता चन्दको पनि छाउगोठमै सर्पदंशबाट मृत्यु भएको थियो।
राज्यले सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान चलाए पनि यस्ता घटना दोहोरिरहनुले कानुनको प्रभावकारिता प्रति प्रश्न उठाएको छ।
छाउगोठ भत्काउने अभियान र छाउपडी कुप्रथाको स्थायित्व
प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा हालसम्म ७,५४५ छाउगोठ भत्काइएका छन्।
कञ्चनपुरमा मात्र २३०, अछाममा सबैभन्दा धेरै ५,८१३, बाजुरामा ५५७, डोटीमा ३९३, कैलालीमा ३८६ र डडेल्धुरामा २३ वटा छाउगोठ हटाइएका थिए।
तर, समाजमा मानसिक गोठहरू अझै बाँकी छन्।
कानुनको नजरमा छाउपडी अपराध हो
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अनुसार, महिलालाई महिनावारी वा सुत्केरी अवस्थामा छाउपडीमा राख्नु गैरकानुनी हो। यसो गरेमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना सजाय हुनसक्छ।
सार्वजनिक पदमा बसेकाले यस्तो गरे दोब्बर सजायको व्यवस्था छ।
छाउगोठमा मृत्यु रोक्न स्थानीय तह र नेताहरूको भूमिकामा प्रश्न
छाउपडी विरुद्धकी अभियन्ता पशुपति कुँवर भन्छिन्, “कानुनी रूपमा अपराध भए पनि, सचेत नागरिकहरू समेत यो कुप्रथामा अडिग छन्।
अहिले लुकीछिपी तराई क्षेत्रमा समेत यो बढ्दो छ।” उनले स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत उत्तरदायी ठहर गर्दै कारबाहीको माग गरेकी छन्।
छाउगोठमा मृत्यु: पक्की घर बनाउने आमाको जीवन अन्धविश्वासको सिकार
कमला आउजीको मृत्यु केवल एक सर्पदंशको घटना होइन, यो समाजमा कुरीति र अन्धविश्वासको विषालु दंश हो।
पक्की घर बनाउने सपना देखेकी एक आमाले, मासिक धर्मको कारण गोठमा बस्न बाध्य भएर ज्यान गुमाउनु दु:खद मात्र होइन, राष्ट्रकै लाजको विषय हो।
📌 हाम्रो वेबसाइट Global Sambad Media मा यस्तै महत्वपूर्ण सामाजिक मुद्दाहरूको निरन्तर अपडेटका लागि:👉 globalsambadmedia.com हेर्नुहोस्
📣 हाम्रो फेसबुक पेज Global Sambad Network लाई Follow गर्न पनि नबिर्सनुहोस् — तपाईका लागि महत्त्वपूर्ण सूचना, भिडियो, र अपडेटहरू त्यहींबाट आउनेछन्।
