
डान्स, नेपाल, डान्स- अब त्यो मादलको पुरानो तालमा होइन, हावाले बढार्दै ल्याउने हल्लाहरूका तालमा। चोकभरि भाषणका जंगली झारहरू उम्रिएका छन्, जहाँ कुनै बेला देशको गौरव भनिने ‘सुनौला सिंहासन’ इतिहासको धुलोमा लडिरहेको छ। काठमाडौँ आजकाल जुवाको अन्तिम दाउ जितेको उन्मत्त खेलाडी जस्तो छ- आँखामा रहस्यमय चमक, ओठमा काँपिरहेको मुस्कान। हिजोसम्म साइरनको हुरीभित्र निदाउने अनुहारहरू आज आफ्नै ओछ्यानको छाया देखेर झस्किन्छन्। भट्टीका चिया-कपहरूमा देशको मधुरो भाग्य उम्लिरहेको छ। कतै हजामको काँइयो भोलिको नक्सा कोरिरहेको छ, कतै पाङ्ग्राले डामेका सडकहरूमा क्रान्तिका फिरन्ते ज्योतिषहरू नयाँ ग्रहहरूको भविष्यवाणी गरिरहेका छन्। चियाको बाफभित्र अनुहार लुकाएर कानेखुसी गर्दै कोही भन्छ- ‘देशलाई परिवर्तनको ऐतिहासिक संघारमा पुर्याएका छौं।’ अर्कोले थाम्न खोज्दा-खोज्दै फुस्किएको खित्का छोड्दै भन्छ- ‘यहाँ वकवासहरूको घरि-घरि भ्रूणहत्या हुन्छ।’ बिहानै ढोकामा बजारिन्छन् अखबारहरू- निद्रा भङ्ग गर्न आएका छापामार बुटझैँ। हिजो जो छाती पिटेर देशको ‘मियो’ भएको घोषणा गर्थे, आज उनीहरू अदालतका गल्लीहरूमा आफ्नै नामको अर्थ खोजिरहेका छन्। एउटा जीर्ण झ्यालको धमिलो बत्तीमुनि एक्लै…
